• मंसिर १२ २०८१, बुधबार

जलस्रोतको सम्भावनालाई सदुपयोग गर्न नसकीएको उर्जा मन्त्रीको भनाइ

बैशाख १३ २०८१, बिहीबार

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले जलस्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न नसकेको बताएका छन् ।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल(इप्पान)को आयोजनामा काठमाडौंमा सुरु भएको चाथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले नेपालसँग करिब ३२ सय प्लस मेगावाट उत्पादन क्षमता रहेको र अबको तीन महिनाभित्र थप तीन सय मेगावाट उत्पादन हुने बताए । उनले आगामी १२ वर्ष भित्रमा २८ हजार ७ सय मेगावाट उत्पादनको लक्ष्यसहितको विद्युत विकासको रोडम्याप र एक्सन प्लान तयार पारेको पनि बताए ।

उनले वन क्षेत्र, जग्गा प्राप्तिका सवालहरू कायम रहेको भन्दै नेपाल ऐन संशोधनमार्फत सम्बोधन गर्नेगरी सरकारले प्रक्रिया अघि बढाएको बताए । उनले सरकारले आगामी लगानी सम्मेलनलाई समेत दृष्टिकोण गरी केही नेपाल ऐन, संशोधनमार्फत नीतिगत सुधारका काम अघि बढाएको बताए ।

उनले यसले लगानीमैत्री वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे । उनले नेपालको आर्थिक समृद्धिको निम्ति जलस्रोत र जलविद्युतको क्षेत्र निकै महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशमा अधिकांश क्षेत्रमा आर्थिक गतिविधि ठप्प भइरहेको अवस्थामा अर्थतन्त्रलाई गति दिने र आर्थिक वृद्धिमा सहयोग गर्ने एक मुख्य क्षेत्र ऊर्जा रहेको बताए ।