• जेष्ठ ४ २०८३, सोमबार

एमनेस्टीले सार्वजनिक गर्यो ०२३ मा भएका मानवअधिकार उल्लंघनका घटना

बैशाख १२ २०८१, बुधबार

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानवअधिकार अवस्था सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२३ को विश्वव्यापी मानवअधिकारको अवस्थाबारे एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदन ‘विश्वको मानवअधिकार अवस्था’ सार्वजनिक गरेको हो ।

प्रतिवेदनका अनुसार सन् २०२३ मा विश्वभरमा मुख्यगरी मानवअधिकार उल्लंघनका चारवटा प्रवृत्ति देखा परेको छ । पत्रकार सम्मेलनमा बोल्दै एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले सन् २०२३ मा संसारभर मानवअधिकार उल्लंघनका घटना व्यापक रुपमा देखिएको बताए । उनले सरकारहरूले द्वन्द्वका क्रममा सर्वसाधारणलाई फाल्तुको वस्तुको रुपमा व्यवहार गरेको देखिएको बताए ।

सरकारहरूले नागरिकको सुरक्षाका लागि गर्नुपर्ने जिम्मेवारीलाई नजरअन्दाज गरेको र द्वन्दरत पक्षहरूले द्वन्द्वको नियम र मानवीय कानुुनहरूलाई बेवास्ता गर्दै मानवअधिकारको उल्लंघन गरेको पाइएको उनले जानकारी दिए ।

त्यस्तै महिला, बालबालिका, यौनिक अल्पसंख्यकहरूको अधिकार खोसिएको पाइएको पनि उनले बताए । सिमान्तकृत समुदाय, महिला, बालबालिका, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारबाट जोखिममा परेका समुदायहरू जलवायु परिवर्तनको प्रभावमा परेका र उनीहरूको मानवअधिकार संरक्षण तथा संवद्र्धन गर्न सरकारहरू विफल भएको पाइएको उनले बताए । त्यसैगरी एआई प्रविधिका कारण मानव अधिकारमा थप संकट पैदा भएको पनि उनले बताए ।

सरकारहरूले अन्तर्राष्ट्रिय कानुनको अवहेलना गर्दा द्वन्दमा परेका सर्वसाधारणहरूहरू पीडित बन्नुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी निर्वाचनहरूमा प्रविधिको प्रयोगगरी घृणा, विभाजन र विभेद भड्काउने खतरा रहेको पनि प्रतिवेदनमा जनाइएको छ । एम्नेस्टी इन्टरनेसनलको सो प्रतिवेदन १५५ देशहरूको मानवअधिकारको अवस्थाको मूल्यांकनसहित तयार गरिएको छ ।