९ वैशाख, काठमाडौं । झापामा सहकारीबाट रकम चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ फाखेल घर भएका २१ वर्षीय सुनिल भनिने सन्तबहादुर स्याङ्तान, सोही ठाउँका २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, ३० वर्षीय सोमलाल स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका-७ का २८ वर्षीय अजय रानामगर छन् ।
उनीहरूले ३० लाख १६ हजार ६८७ रुपैयाँ बराबरको चोरी गरेको झापा प्रहरीका प्रवक्ता तथा डीएसपी कृष्ण चन्दले बताए । अहिलेसम्म झापाका मात्रै ११ वटा सहकारीमा यो समूहले चोरी गरेको खुलेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको समन्वयमा उनीहरूलाई सुनसरीको इटहरीबाट पक्राउ गरी झापा ल्याइएको डीएसपी चन्दले बताए । पक्राउ परेकाहरूविरुद्ध चोरीको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
चोरी गर्नका लाथि ताला फोड्न प्रयोग भएको मार्तोल, पेन्चिस, पिलास लगायतका सामान पनि प्रहरीले बरामद गरेको छ । चोरी गर्ने बेला लगाइएका कपडासमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।