बैशाख ९, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा र विद्यार्थीले २०४७ साल यता उच्च सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै सिंहरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका छन् ।
क्रान्तिकारी युवा संगठन र अखिल (क्रान्तिकारी)को आयोजनामा गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी अखिल (क्रान्तिकारी)का इन्चार्ज हरिकृष्ण गजुरेल, संयोजक मिलन राई, सहसंयोजक वीरेन्द्र शाह, क्रान्तिकारी युवा संगठनका नेता अविनाश कुँवरलाई प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएका अन्य युवा र विद्यार्थी नेताहरुमा कमला परियार, लक्ष्मी पाण्डे, राहुल विक, दिनेश नेपाली, आयुष घिमिरे, निशान कटुवाल, जगत ओली, गोकर्ण जोशी, सुदिप सुर्खेती, गीता बुढा, लोकेन्द्र थापा र जय रावल रहनु भएको छ ।
गिरफ्तार गरिएका नेता र कार्यकर्तालाई सिंहदरबार प्रहरी वृत अनामनगरमा राखिएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो ।
‘२०४७ सालयता सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर, छानबिनका लागि नागरिक स्तरबाट छानबिन समिति बनाऊ’ लगायतका नारासहित विरोध प्रदर्शनमा उत्रिएका युवा र विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको प्रहरी हस्तक्षेप र धरपकडको चौतर्फी रुपमा विरोध भएको छ र अविलम्ब रिहाई गर्न जोडदार रुपमा दबाब सिर्जना भइरहेको छ ।