काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी दल राप्रपा वैकल्पिक राजनीतिक शक्ति हुन नसक्ने टिप्पणी गरेका छन् ।
शनिवार गोदावरीमा चलिरहेको नेकपा एमालेले प्रतिनिधि परिषद् बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले निर्वाचनमा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति बिस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेको उल्लेख गरे ।
उनले हाल बढिरहेको चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा परेको संकट, रोजगारीको क्षेत्र साँघुरिँदै गएको अवस्था, सुशासन एवम् सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको र ती समस्यालाई दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको दाबी गरे ।
अध्यक्ष ओलीले भने-‘उनीहरुले यस्ता समस्यालाई उजागर र उपयोग त गर्न सक्छन् तर उनीहरूसँग यसको समाधान भने छैन । सही दर्शन र विचारधारा नभएको, अर्थ राजनीतिक दिशा स्पष्ट नभएको र आफ्नो स्वार्थका लागि अस्थिर र चलायमान रहने शक्तिहरू विकल्प हुन सक्दै सक्दैनन् ।’