काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।
आज सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो ।
बिहीबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य भने घटेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय २० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार सात सय २५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।