धनगढी । सुदूरपश्चिम प्रदेशमा आफूले मुख्यमन्त्रीको रूपमा अघि सारेका दीर्घ सोडारीलाई सत्तारुढ दल एमालेले अस्वीकार गरेपछि गठबन्धनमा एकीकृत समाजवादी असन्तुष्ट बनेको छ ।
एमालेले सोडारीलाई अस्वीकार गरेपछि नेकपा एसका अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर सहयोग मागेका छन् ।
सरकार बनाउने दाबी पेस गर्न प्रदेश प्रमुखले दोस्रोपटक दिएको समयसीमा बिहीबार सकिँदै छ । प्रदेश प्रमुख नाजिर मियाँले यसअघि पेस भएका दुवै दाबी खारेज गरी फेरि दाबी पेस गर्न दुई दिनको समय दिएका थिए । आज दाबी पेस गर्नुपर्ने भए पनि कसको सरकार बन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।
मंगलबार साँझ बूढानीलकण्ठमा कांग्रेस नेता नारायण खड्काको घरमा देउवा र नेपालबीच डेढ घण्टा छलफल भएको देउवानिकट स्रोतले बतायो । नेताहरूको भेटलाई स्वाभाविक रहेको प्रतिक्रिया दुवै दलका प्रवक्ताहरूले दिएका छन् । ‘उहाँहरूको भेट सधैँ हुन्थ्यो नि । यसमा नौलो कुरा रहेन,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले शिलापत्रसँग भने ।
उता कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि नेताहरूबीचको भेट स्वाभाविक रहेको बताउँछन् । ‘सुदूरपश्चिममा एउटा प्रक्रियामा गएको कुरा पूरा नहुँदै अर्को प्रक्रिया सुरु गरियो । यो असंवैधानिक छ भन्ने कुरा प्रदेश तहबाट ब्रिफिङ भएको छ,’ महतले शिलापत्रसँग भने । छलफलमा भएका अन्य विषयवस्तुबारे उनले खुलाउन चाहनेनन् । प्रवक्ता महतले गण्डकीमा पनि असंवैधानिक काम भएकाले त्यसको उपचार खोज्न अदालत पुगेको बताए ।