काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको सहमतिमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणालीमा जान सकिने बताएका छन् । विद्यामान शासकीय स्वरूपले राष्ट्रिय मुद्दाको निकास दिन नसक्ने निष्कर्ष निकाल्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणालीमा जानुपर्ने बताएका हुन् ।
सबैभन्दा उपयुक्त प्रणाली संसदीय व्यवस्था भएपनि अहिलेसम्मको अनुभवले प्रभावकारी परिचालन हुन नसकेको उनको निष्कर्ष छ ।
‘सबैको सहमति भयो भने जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जान सकिन्छ । शक्ति सन्तुलनका हिसाबले यो प्रणाली अपनाउन सकिन्छ । सेनाको परामाधिपति राष्ट्रपति नै हुनेभयो । कार्यपालिका प्रमुख प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने भयो । राष्ट्रपतिलाई पनि सर्टेन अधिकार प्रत्यायोजन गर्न सकिन्छ । यसो गरेमा राजनीतिक स्थायित्व दिन सकिन्छ’, बुधबार रातोपाटीसँग केसीले भने ।
यद्यपि नेपालको हकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति उपयुक्त नभएको उनले प्रतिक्रिया दिए । विकल्पमा प्रत्यक्ष र्निाचित कार्यकारी राष्ट्रपति स्वीकार्य नहुने उनको तर्क छ ।
‘प्रत्यक्ष राष्ट्रपति हुनासाथै सेनाको परमाधिपति पनि उही हुने अवस्था रहन्छ । अहिले संसारभरि नै निर्वाचित अधिनायकवाद सोच देखिएका छन्’, उनले भने, ‘त्यसले एकै ठाउँमा शक्ति केन्द्रित हुनुहुन्न भन्ने मेरो दृष्टिकोण रहेको छ । दोस्रो भौगोलिक अवस्थाले पनि त्यो उपयुक्त हुँदैन भन्ने लाग्छ ।’
यस्तै केसीले जनतामा देखिएका गम्भीर निराशा चिर्नका लागि अहिलेको निर्वाचन प्रणाली परिवर्तन गरी प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा राखे । त्यसका लागि राष्ट्रिय सहमतिका साथ राष्ट्रिय सरकार निर्माण र संविधान संशोधन गर्नुपर्ने बताए ।
‘तत्कालका लागि जनतामा देखिएको निराशा, अराजकताको अन्त्यका लागि राष्ट्रिय सरकार बनाएर जानुपर्छ । अहिले देशका सामाजिक सन्तुलन भताभुंग भएर जान लागेको छ । धार्मिक, सांस्कृतिक र जातीय द्वन्द्वलाई फैलाउने कोसिस भइराखेको छ । यी सबै अवस्थाबाट उन्मुक्ति पाउन पनि राष्ट्रिय सरकार आवश्यक छ । संविधान संशोधन गर्न पनि राष्ट्रिय सहमति चाहिन्छ । प्रमुख दलको बिचमा राष्ट्रिय सरकार बनाउन आवश्यक छ । सत्ता परिवर्तनको खेलले कोही आएपनि केही हुनेवाला छैन’, पछिल्लो अवस्थाको चित्रण गर्दै उनले भने ।