• बैशाख २० २०८३, आईतवार

एमालेमा प्रतिस्पर्धा गर्न तम्सिने तर परिणाम स्वीकार गर्न नसक्ने रोग देखियो : ईश्वर पोखरेल

चैत्र २६ २०८०, सोमबार

ओखलढुंगा । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्न तम्सिने र प्रतिस्पर्धाबाट प्राप्त परिणामलाई स्वीकार गर्न नसक्ने रोग एमालेमा देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ओखलढुंगाको दशौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रतिस्पर्धा गर्ने अनि प्रतिस्पर्धाको परिणामलाई स्वीकार गर्न गाह्रो मान्ने तपाईंहरूको रोग प्रदेश, जिल्लामा नसरोस्,’ पोखरेलले भने, ‘प्रतिस्पर्धा गर्नुभयो भने परिणाम आइसकेपछि विजयी बन्नेलाई विजयी बन्न नसकेका साथीहरूले सबै भन्दा पहिला आएर माला र खादा लगाउने सक्ने हुनुहोस् ।’

उनले प्रदेश र जिल्लाका अधिवेशनहरूमा आएका अतिथिहरू खेलाडी भएर होइन रेफ्रिको भूमिकामा देखिनु पर्नेमा पनि जोड दिए । उनले तुलनात्मक रूपमा विचारमा प्रष्ट भएको, सङ्गठन निर्माण र परिचालनमा अनुभव भएको, जनताले पत्याएको र चिनेको, भोलि जनताले भरोसा गर्नेलाई छान्न पनि निर्देशन दिए । उनले करप्टेड र फ्रस्टेटेड मान्छे एमाले हुन नसक्ने पनि बताए ।

एमाले स्थायी कमिटी शेरधन राईले पार्टीमा देखिएका चुनौतीहरूलाई सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिए । एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले प्रतिस्पर्धापमा हारेपछि सबैभन्दा पहिला विजयी हुनेलाई विजयको माला पहिराउने संस्कारको थालनी गर्नुपर्नेमा जोड दिए ।