• मंसिर ११ २०८१, मंगलवार

समृद्धिका दुई पाङ्ग्रा

चैत्र २६ २०८०, सोमबार

उद्योग तथा कलकारखानाको स्थापना गर्न नसक्दा आममानिस रोजगारीकै लागि घरखेत बन्दगीमा राखेर भए पनि विदेश जान विवश छन् । हामीले कृषिमा युवाहरूलाई आकर्षित गर्न नसक्दा कृषिमा लाग्ने जनशक्तिको समेत अभाव भैरहेको अवस्था सिर्जना भएको छ । अर्कोतिर कृषि उत्पादनले बजार प्राप्त गर्न नसक्दा किसान निराश भई पेशाबाटै पलायन हुने अवस्थामा छन् ।

कृषि विकासका लागि राज्यले गर्नुपर्ने सामान्य कार्यहरू पनि गर्न सकेको छैन । कृषिलाई अत्यावश्यक पर्ने रासायनिक मलको समयमा नै व्यवस्था हुन सकेको छैन । हजारौं बिगाहा जमिनमा लगाइएका बालीबाट पर्याप्त उत्पादन हुन सकिरहेको छैन ।

कृषकका लागि आवश्यक पर्ने कृषि ऋण उपलब्ध गराउन नसक्दा कृषक थप मारमा परेका छन् । वास्तविक किसान पहिचान भएपछि सहज रूपमा ऋण पाउने वातावरणको निर्माण राज्यले गर्न सक्नुपर्छ । त्यसले मात्र किसानलाई कृषिमा आकर्षित गराउन सक्छ ।

कृषि विभागको पछिल्लो विवरण अनुसार नेपालमा कृषियोग्य जमिनको तीस प्रतिशत जमिनमा मात्र सिञ्चाइको सुविधा रहेको छ । बाँकी ७५ प्रतिशत जमिनमा भने हिउँदे वर्षा र मनसुनी पानीको भर पर्नु पर्ने अवस्था छ ।

शीत भण्डारको अभावले उत्पादित वस्तु सस्तोमा बिक्री गर्नु पर्ने बाध्यता रहेको छ । राज्यले कम्तिमा पनि जिल्लामा एउटा मात्र भए पनि शीत भण्डारको निर्माण गर्नपर्छ । कृषकको उत्पादन भण्डारणको व्यवस्था मिलाउने काम गर्न सक्नुपर्छ ।

कृषि योग्य जमिनहरू बाँझो रहने क्रम बढेर गएको छ । खासगरी उत्पादनले बजार नपाउने समस्याका कारण कृषि पेशा छाड्ने कृषकहरूको मात्रा बढेको देखिन्छ ।

१५/२० वर्ष अगाडिसम्म नेपालले भारतमा ठूलो मात्रामा धान निर्यात गर्ने गरेको थियो । तर आज खाद्यान्न, तरकारी, फलफूल लगायतका सबैजसो उपभोग्य सामाग्रीहरूको आयात भारतबाटै गरिरहेका छौं । कृषि उत्पादन घट्दो क्रममा रहेको छ भने कृषियोग्य जमिन बाँझो रहने क्रम पनि बढेर गएको छ ।

उत्पादनले बजार नपाउँदा कृषकहरूले गोलभेडा फालेका, दुध सडकमा पोखेका समाचार सुन्ने र देख्ने गरेका छौं । उखु किसानको हालत त्यस्तै रहेको छ । चिनी मिलले उधारोमा दिएको उखुको मूल्य नपाउँदा उखु नै बालेको घटना पनि हामीले थाहा पाएकै छौ ।

समस्या नै समस्यामा रहेको कृषि क्षेत्रलाई आमयुवाको आकर्षणको क्षेत्र बनाउन राज्य गम्भीर भएर लाग्नुपर्छ । कृषि नै त्यस्तो क्षेत्र हो जहाँ हजारौंले रोजगारी पाउन सक्छन् भने उत्पादनबाट आयात घट्न गई आर्थिक विकासमा समेत ठूलो सहयोग पुग्छ ।

तसर्थ, कृषि क्षेत्रको विकासमा प्रभावकारी कार्य गरी आमयुवा वर्गको आकर्षणको क्षेत्र बनाउने तर्फ राज्यले विशेष ध्यान दिनुपर्छ । हाम्रो अर्को रोजगारी र आर्थिक विकासको उच्च समभावना रहेको क्षेत्र हो पर्यटन । यसको विकासले रोजगारी सिर्जना, आर्थिक विकास तथा विदेशी मुद्रा आर्जन गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

नेपाल प्राकृतिक सुन्दरताले विश्वकै प्रशिद्ध स्थल हो । क्षेत्रफलका हिसाबले सानो भएर पनि हावापानीको विविधता, वनस्पतीमा विविधता अनि भौगोलिक विविधताले गर्दा विश्वमा नै चर्चित रहेको वास्तविकता सबैका सामु छँदैछ । यिनै कारणले गर्दा वर्षेनी लाखौंका सङ्ख्यामा विदेशी पर्यटक नेपाल भ्रमणका लागि आउने गर्छन् ।

गे्रट हिमालयन ट्रेलको महत्व ज्यादा रहेको छ । कन्चनजङ्घादेखि सैपाल हिमालसम्मको क्षेत्रलाई ग्रेट हिमालयन ट्रेल भनिन्छ । यस अन्तर्गत पूर्वी नेपालका कन्चनजङ्घा संरक्षण क्षेत्र, मकालु बरूण राष्ट्रिय निकुन्ज तथा सगरमाथा राष्ट्रिय निकुन्ज पर्छन् ।

यसैगरी मध्य क्षेत्रको लाम्टाङ, गोसाइकुण्ड र गौरीशकर हिमाली क्षेत्रलाई पनि ग्रेट हिमालयन ट्रेल अन्तर्गत समावेश गरिएको छ । यसैगरी पश्चिमका मनाङ, मुस्ताङ, मुगु, डोल्पाका पर्यटकीय गन्तव्यहरू समावेश गरिएका छन् ।

यस ट्रेलको पर्यटनबाट पाँच हजार मिटर माथिको क्षेत्रमा हिमाली जनावर र वनस्पतिहरूको अवलोकन गर्न सकिन्छ । नेपाल पर्यटन बोर्डले यस क्षेत्रलाई पर्यटकीय गन्तब्यका रूपमा सिफारिस गरेको छ । तर यस क्षेत्रको प्रचार प्रसार अपेक्षित रूपमा गर्न नसक्दा आशा गरिए अनुसार पर्यटकहरू भ्रमणमा आउन सकिरहेका छैनन् ।

नेपाल प्राकृतिक सुन्दरताको दृष्टिले आकर्षक देश हो । यहाँको पहाडी स्थलहरू, विभिन्न प्रकारका भूसतह, गुफा, झरना, ताल तथा नदीहरूले विदेशी पर्यटकको मन लोभ्याउँछन् । त्यसैले यस्ता स्थानहरूको भ्रमणका लागि ठूलो सङ्ख्यामा पर्यटकहरू नेपालमा आउने गर्छन् ।

यसैगरी ऐतिहासिक तथा धार्मिक स्थलका लागि प्रशिद्ध रहेको छ । लुम्विनी, जनकपुर, मुक्तिनाथ, स्वर्गद्वारी, रिडी, उग्रतारा, मनकामना, पशुपतिनाथ, कृष्णमन्दिर, चागुनारायणजस्ता मुख्य धार्मिक स्थलहरू हुन् । यसै गरी काठमाडौं उपत्यकाका प्राचीन दरवारहरू पर्यटकीय गन्तव्यका हिसाबले महत्वपूर्ण मानिन्छन् ।

यहाँ प्रयोग भएका काष्ठकला तथा मूर्तिकलाका कारण पर्यटकहरू निकै मोहित हुने गरेका छन् । नेपालको सांस्कृतिक विविधता पनि रोचक र मनमोहक नै रहेको छ । यिनका कारण पर्यटकहरू लोभिने गर्छन् । नेपालको जनगणना २०७८ अनुसार १४३ जातजातिहरू रहेका छन् । यी सबैका आआफ्ना मौलिक परम्परा, रितिरिवाज तथा मूल्यमान्यताहरू रहेका छन् ।

दृष्टान्तका लागि राईको धान नाच, थारूको लठ्ठी नाच, गुरूङको सोरठी नाच, लिम्बुको पालम, शेर्पाको स्याब्रु, काठमाडौंको नेवारी गीत र नाच आदि रहेका छन् । त्यसैगरी हावापानीमा रहेको विविधता पनि पर्यटकको अर्को आकर्षणको कारण रहेको छ ।

यहाँको दक्षिणी भागमा उष्ण, मध्य भागमा समशितोष्ण तथा उत्तरी भागमा ठण्डा प्रकारको हावापानी पाइन्छ । पर्यटकीय हिसाबले सबै क्षेत्रमा उत्तिकै मात्रामा पर्यटन व्यवसायको सम्भावना रहेको छ । हाम्रो देशमा साहसिक पर्यटनको पनि ज्यादा महत्व रहेको छ ।

उत्तरी भेगबाट तीब्र गतिमा बग्ने नदीनाला राफ्टिङको सम्भावना उच्च रहेको छ । यसका साथै हिमाल आरोहण, प्याराग्लाइडिङ तथा बन्जी जम्पिङ, जीप लाइनजस्ता साहसिक पर्यटनका लागि पनि हजारौं पर्यटक वर्षेनी नेपाल भ्रमणका लागि आउने गरेका छन् ।

नेपालमा रहेको प्राकृतिक विविधता र वन्यजन्तुको विविधता पनि अर्को कारण बनेको देखिन्छ पर्यटक आकर्षणको । विभिन्न भागमा रहेका निकुन्ज, आरक्षण स्थलमा रहेका जनावर पक्षीहरू आदिका बारेमा अध्ययन अनुसन्धानका लागि समेत हजारौंका सङ्ख्यामा विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आउने गर्छन् ।

हाम्रो पर्यटन व्यवसायमा अनेकौ सम्भावना भएर पनि विभिन्न समस्याका कारण अपेक्षित विकास गर्न सकिएको छैन । पर्यटन क्षेत्रको विकासमा अनेकौ समस्याहरू पनि रहेका छन् । हाम्रा पर्यटकीय स्थलहरूमा अझै पनि पर्यटकका लागि आवश्यक सेवा र सुविधा पर्याप्त मात्रामा नभएको अवस्था छ ।

होटल तथा लजहरूमा सुरक्षाको अवस्था कमजोर रहेको छ भने सन्चार सुविधाहरू पनि विश्वसनीय र भरपर्दो रहेको छैन । इन्टरनेटको पहुँच विस्तार गरी पर्यटकका लागि सहज रूपमा सन्चारका सबै सेवा उपलब्ध गराउन सक्नुपर्छ ।

त्यसै गरी चाहे अनुसारका आधुनिक र सुविधा सम्पन्न होटल तथा लजहरूको व्यवस्था गर्नु पर्ने देखिन्छ । यसका साथै होटल तथा लजहरूमा पर्यटकलाई गरिने व्यवहार पर्यटन मैत्री बनाउन आवश्यक रहेको छ । शिष्ट व्यवहार, पारिवारिक वातावरणजस्ता पक्षमा विशेष ध्यान दिनु जरूरी रहेको छ ।

पर्यटन विभागबाट पनि पर्यटन मैत्री नीति निर्माण गरी भरपर्दो वातावरणको सिर्जना गर्न राज्य विषेश चनाखो बन्नुपर्छ । अध्यागमन विभागमा झन्झिटिलो प्रक्रियाको अन्त्य गरी छिटो र छरितो तरिकाले पर्यटकलाई कागजपत्र दिलाउने कार्य पनि सहज बनाउन सक्नुपर्छ ।

पर्यटनको विकासमा अवरोध सिर्जना गर्ने अर्को कारण भनेको राजनीतिक अस्थिरता पनि रहेको देखिन्छ । छिटो छिटो सरकार फेरिने गर्दा बनेका नीति पनि कार्यान्वयन नहुँदै फेरि सरकार बदलिन जाँदा थप अन्योल सिर्जना हुने गरेको छ ।

नेपालमा हजारौं मठमन्दिर रहेका छन् । यस्ता सम्पदालाई हामी धार्मिक सम्पदा भनेर चर्चा गर्छौ । हाम्रा प्राचिन र ऐतिहासिक धार्मिक सम्पदाहरूको अध्ययन अनुसन्धान तथा अवलोकनका लागि पनि ठूलो सङ्ख्यामा पर्यटकहरू नेपाल आउने गर्छन् ।