काठमाडौं । इलाम क्षेत्रनम्बर–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई साझा उमेदवारका रूपमा अगाडि सारिएको छ । सुहाङलाई एमालेसँगै माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि सघाउने भएका हुन् ।
सो क्षेत्रमा चुनावी तालमेल गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र विप्लवबीच उच्चस्तरीय समझदारी भएको ती पार्टीका जिल्ला नेताहरूले शनिबार जारी गरेको अपिलमा उल्लेख छ ।
सुहाङलाई विजयी गराउन तीनै पार्टीका जिल्ला नेताहरूले आममतदाता, शुभेच्छुक, समर्थकमा संयुक्त अपिल समेत गरेका छन् । माओवादी केन्द्रले सुहाङलाई सघाउने निर्णय यसअघि नै गरेको थियो ।
सो क्षेत्रमा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।