• जेष्ठ ५ २०८३, मंगलवार

बञ्चरेडाँडावासीको आन्दोलनमा कांग्रेस सांसद केसीको ऐक्यबद्धता

चैत्र २४ २०८०, शनिबार

काठमाडौं । कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सिसडोल–बञ्चरेडाँडावासीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । शनिबार बञ्चरेडाँडा पुगेर सांसद केसीले उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । उनले ल्याण्डफिल साइटको विषय काठमाडौं र नुवाकोटको मात्र नभई राष्ट्रिय सरोकारको विषय भएकाले फोहोर व्यवस्थापनको विषयमा बञ्चरेडाँडामा भइरहेको विषयप्रति सबैले थाहा पाउनुपर्ने बताए ।

ल्याण्डफिल साइटमा पत्रकारहरूलाई प्रवेश रोक लगाइएको विषयमा पनि सांसद केसीले भत्र्सना गरे । ‘फोहोर व्यवस्थापनको विषय नुवाकोट र काठमाडौंको मात्रै विषय होइन । राष्ट्रिय सरोकारको विषय हो । राष्ट्रिय सरोकार र हरेक नेपालीको चिन्ताको विषय हो । त्यस्तो विषयवस्तुमा पत्रकारलाई प्रवेश निषेध गर्ने जुन निरंकुशता सरकार र महानगरले लिएको त्यसलाई भत्र्सना गर्छु । निन्दा गर्छ,’ उनले भने ।

बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति (नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै शनिबार फोहर विसर्जनमा अवरोध गरेको गरेका थिए ।

उनीहरुले यसअघि प्रधानमन्त्री समक्ष राखेको ११ बुँदे माग पनि पूरा नभएकोले शनिबार फोहोर फाल्न अवरोध गरेका थिए ।
त्यसक्रममा समितका संयोजक श्रीराम ढुंगानासहित १३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।