• जेष्ठ ५ २०८३, मंगलवार

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयासको बडापत्र प्रतिनिधिसभाबाट अनुमोदन

चैत्र २० २०८०, मंगलवार

२० चैत, काठमाडौं । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र प्रतिनिधिसभाबाट अनुमोदन गरेको छ । सातवटा सदस्य राष्ट्रमध्ये बाँकी रहेको नेपालले पनि आन्तरिक प्रक्रिया अन्तर्गत मंगलबार प्रतिनिधिसभाबाट अनुमोदन गरेसँगै स्थापना भएको तीन दशकपछि बिमस्टेक बडापत्र कार्यान्वयनमा जाने भएको हो ।
नेपालले संसदबाट अनुमोदन गरेसँगै यसको लिखित जानकारी बंगलादेशको राजधानी ढाकामा रहेको बिमस्टेकको सचिवालयमा पुगेको ३०औँ दिनदेखि लागू हुनेछ ।

काठमाडौंमा १४ र १५ साउन २०७५ मा सम्पन्न चौथो शिखर सम्मेलनले बिमस्टेक बडापत्र यथाशीघ्र तयार गरी लागू गर्ने निर्णय गरेको थियो । त्यसको दुई वर्षपछि ०७७ सालको चैतमा बसेको विदेशमन्त्री स्तरीय बैठकमा पाँचौं शिखर सम्मेलनमा संगठनको बडापत्रसँगै आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोग, श्रीलंकाको कोलम्बोमा टेक्नोलोजी ट्रान्सफर सुविधाको स्थापना र सदस्य राष्ट्रहरूबीच कूटनीतिक प्रतिष्ठान र प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोग लगायत विषय अघि बढाउने सहमति भएको थियो ।

सोही अनुसार श्रीलंकामा १६ चैत २०७८ (३) मार्च २०२२० मा आयोजना भएको पाचौं शिखर सम्मेलनमा सदस्य राष्ट्रका प्रमुखहरूले बिमस्टेक बडापत्रमा हस्ताक्षर गरेका थिए । बडापत्रमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाटै भर्चुअल सम्बोधन तथा हस्ताक्षर गरेका थिए ।

बिमस्टेक बडापत्रमा ‘सदस्य राष्ट्रहरूले हस्ताक्षर गरेपश्चात आन्तरिक प्रक्रिया अनुसार अनुमोदन गरी यसको लिखित संगठनका महासचिव समक्ष दाखिला गर्नुपर्ने’ प्रावधान छ । नेपालले गत २९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकबाट कानुन बमोजिम आन्तरिक प्रक्रियाअनुसार यसलाई अनुमोदन गर्न संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

संविधानको धारा, २७९ को ९१० मा नेपाल पक्ष हुने सन्धि सम्झौताको अनुमोदन सङ्घीय कानुनबमोजिम हुने व्यवस्था रहेको छ । नेपालको सन्धि ऐन, २०२७ को दफा ४ मा नेपाल सरकार, मन्त्रिपरिषदले बडापत्र अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले सोही व्यवस्थाअनुसार संसद्‍मा पेस गरेको बिमस्टेक बडापत्र मंगलबार अनुमोदन भएको हो । नेपालबाहेकका सदस्य राष्ट्रहरूले भने यो बडापत्र यसअघि नै आन्तरिक प्रक्रियाबाट अनुमोदन गरिसकेका छन् ।

बंगालका खाडी राष्ट्रहरुको संगठनको रुपमा परिचित विमस्टेक ६ जुन १९९७ मा स्थापना हुँदा बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्ड मात्रै यसका सदस्य थिए । त्यतिबेला यसको नाम बिस्टेक थियो । सोही वर्ष डिसेम्बर २२ मा थाइल्याण्डमै आयोजित मन्त्रीस्तरीय बैठकले संगठनमा म्यानमारलाई सदस्यका रुपमा थप गरेको थियो भने नाम परिवर्तन गरेर बिमस्टेक बनाएको थियो ।

नेपाल भने सन् २००४ मा मात्रै मन्त्रिस्तरीय बैठकबाट सदस्य बनेको थियो । अर्को सदस्य राष्ट्र भुटान पनि त्यसैवर्ष बिमस्टेकको सदस्य राष्ट्र बनेको थियो । यस संगठनमा दक्षिण एसियाका पाँच र पूर्वी एसियाका दुई गरी सातवटा राष्ट्र सदस्य छन् भने यसक्षेत्रमा विश्वको करिब २२ प्रतिशत जनसंख्या रहेको छ ।