राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेसमा एसइई परीक्षामा चिट चोरिएको विषयमा दोष त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र निरीक्षकले लिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले मधेसका विभिन्न जिल्लामा एसईईमा चिट चोराइएको र आम मधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रह गरेका हुन् । सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरुले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेसको कुनै दोष नभएको उनले बताए । सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।
‘मधेसले पहाडलाई पढाउनको लागि कुनै बेला उक्लिने गथ्र्यो तर अहिले मधेस आफै एसईई परीक्षा हुँदै गर्दा चिट चोर्नेहरुको चपेटामा पर्दैछ । यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौंमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेस झरौँ न त्यहाँ बनिहाल्छ । कोही एसईई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा। तर त्यसको इमेजको कस्ट मधेसले तिरिराखेको छ,’ उनले भने, ‘त्यो हामीले किन तिर्ने ? किनकी यहीँबाट खटाइएको सिडिओ, एसपी, निरीक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ । तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरु अधिकारीहरु हुन् ।’
उनले आगामी दिनमा सम्बन्धित अधिकारीको त्रुटिका कारण त्यसको मूल्य मधेसले नतिर्ने पनि बताए ।