काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा जलविद्युत, कृषि तथा पूर्वाधार क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठले आइतबार सिचुवान प्रान्तीय जनसरकारका गभर्नर हुवाङ क्वाङसँगको भेटमा सिचुवानका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरेका हुन् ।
नेपालमा विदेशी लगानीलाई प्रोत्साहित गर्न कानुनी, संरचनात्मक तथा प्रक्रियागत उल्झन हटाइएको जानकारी दिँदै उनले विदेशी लगानीलाई खुला हृदयले स्वागत गरिने बताए ।
नेपालले चीनसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको बताए । चीनले नेपालको विकास प्रक्रियामा सदियौँदेखि सहयोग गर्दै आइरहेको स्मरण गर्दै उनले चीनलाई नेपालले सङ्कटको साथीका रूपमा लिँदै आएको बताए ।
सिचुवान प्रान्त सरकारका गभर्नर हुवाङले द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण र भेटवार्ताले महत्वपूर्ण सघाउ पुर्याउने विश्वास व्यक्त गरे । उनले नेपालको विकासमा सिचुवान साझेदारी गर्न तयार रहेको प्रतिबद्धता जनाए ।