• मंसिर १४ २०८१, शुक्रबार

चीनलाई नियन्त्रण गर्न अमेरिकाले नेपालमा धर्म परिवर्तनको डढेलो नै लगायो : कमल थापा

चैत्र १८ २०८०, आईतवार

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अहिले धर्म परिवर्तनको डढेलो लागेको बताएका छन् । उनले पहाडका सिङ्गो गाउँगाउँमा धर्म परिवर्तन भएको बताए । राप्रपा रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘तराईमा पनि म सुन्दै छु, बिस्तारै यो धर्म परिवर्तनको महारोग सल्किएर गएको छ । हामीलाई कुनै पनि धर्मको विरोध गर्नु छैन । इसाईहरू आजभन्दा ७० वर्ष अगाडि औँलामा गन्न सक्ने सङ्ख्यामा थिए । १०–१२ जना मात्र थिए याद राख्नुस् । अहिले लाखौँको सङ्ख्यामा भएका छन् ।’

उनले पश्चिमा मुलुकहरूले भारत र चीनलाई नियन्त्रण गर्नका लागि धर्म परिवर्तन गराएर नेपाललाई सांस्कृतिक उपनिवेश बनाउन खोजिरहेको र त्यसमा प्रमुख राजनीतिक दलहरू हतियारको रूपमा प्रयोग भएको आरोप लगाए । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका थापाले यो धर्म परिवर्तनको लहरले सनातन धर्म कमजोर मात्र हुने नभई नेपालमा कहिल्यै नभएको धार्मिक, सांस्कृतिक द्वन्द्व, विवाद, झगडा, युद्ध हुनसक्ने खतरा देखिएको बताए ।

अध्यक्ष थापाले नेपालमा सङ्घीय धर्म निरपेक्ष गणतन्त्र असफल भएको दाबी गरे । केही सीमित दलका सीमित नेताहरूले सिन्डिकेट खडा गरेर देशमा ब्रह्मलुट गरिरहेको उनले आरोप लगाए । मुलुकमा राजासहितको प्रजातन्त्र तथा हिन्दू राष्ट्र पुनस्र्थापना र निर्वाचन प्रणालीमा सुधार अपरिहार्य रहेको उनले दाबी गरे ।