काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनका उमेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर-२ मा जीतबहादुर राई र बझाङ-१ ‘क’ मा दिलबहादुर सिंहलाई उमेदवार बनाउने निणर्य गरेको हो । राई इलामकै माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।
पार्टीका सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार, उमेदवारहरूलाई टिकट दिइसकिएको छ । ‘उहाँहरूलाई टिकट दिएर क्षेत्रमा पठाइसकेका छौँ,’ श्रेष्ठले भने । इलाम-२ र बझाङ-१ ‘क’मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारको मनोनयन पत्र दर्ता गरिनेछ ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूले छुट्टाछुट्टै उमेदवार उठाउँदै छन् । गठबन्धनको प्रमुख दल नेकपा (एमाले)ले सुहाङ नेम्वाङलाई उमेदवार बनाइसकेको छ । नेकपा (माओवादी केन्द्र)ले पनि उमेदवार बनाउने निणर्य गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवार छनोटको प्रक्रियामा छ ।