काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँरले सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरूद्ध अहिलेसम्म कुनै तथ्य प्रमाण नभेटिएको बताएका छन् । उनले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा लामिछानेविरूद्ध परेको उजुरीमाथि अहिलेसम्म कुनै पनि आधार नभेटिएको बताए ।
‘अहिले सहकारीको विषयमा अलिअलि सांकेतिक रूपमा आयो । ठाडो उजुरीको रूपमा इस्यू आयो दर्ता भयो तर कुनै पनि काम अनुसन्धान गर्दा तथ्य प्रमाणमा भेटिँदैन । कानुनी दायरामा पर्ने अवस्था छैन । र अहिले त्यो जुन सांकेतिक रूपमा आएको छ रवि लामिछाने भन्ने त्यो विषयमा अहिलेसम्मको तथय प्रमाणमा कुनै पनि आधार देखिँदैन,’ उनले भने ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने पनि जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग पनि गर्दै आएको छ ।
यही विषयमा प्रष्ट पार्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापालाई पनि बोलाइएको थियो ।
त्यस्तै आइजी कुवँरले जिबी राई नै सहकारीको मुख्य समस्याको जड रहेको बताए । उनलाई नेपाल ल्याउन प्रहरी र परराष्ट्र मन्त्रालयमार्फत् पत्राचार गरे पनि ल्याउन मलेसियन सरकार बाध्य नभएको उनको भनाइ छ । जसकारण राईलाई फिर्ता ल्याउन समस्या भइरहेको उनले बताए ।
‘जिबी राईको सन्दर्भमा हामी संवेदनशील छौं । किनकी यो समस्याको मुख्य जड त्यही हो भन्ने हामीलाई लाग्छ । डिफ्युजन नोटिस जारी भयो । सुपुर्दगी गर्न पत्र पठाऊ भन्यो । हामीले परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठायौं । त्यो अहिले इन्टेरियर मिनिस्ट्रीमा गएर बसेको छ । तर मलेसियन सरकार अहिले यति हुँदाहुँदै पनि बाध्य भएको छैन,’ उनले भने ।
यद्यपि आफूले आफ्ना मलेसियाका समकक्षीसँग पहल गरिरहेको पनि उनले बताए ।