• मंसिर १४ २०८१, शुक्रबार

आफूलाई सहकारीको ठग प्रमाणित गरेर देखाउन कांग्रेसलाई लामिछानेको चनौती

चैत्र १० २०८०, शनिबार

चैत्र १०, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र त्यसको नेतृत्वलाई सूर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारी प्रकरणबारे आफू सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् ।

उनले कांग्रेस नेताहरूले भनेको दिन, स्थान र समयमा सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् । गृहमन्त्री लामिछानेले भनेका छन्,‘तपाईंहरुले भनेको दिन, स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ । त्यो बहस काठमाडौँ–४ मा भए राम्रो । म एक्लै आउँछु, तपाईं आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले ममाथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला ।’

लामिछानेले यो बहस लाइभ गरेर सिंगो देशलाई देखाउनुपर्ने समेत बताएका छन् । उनले भनेका छन्, ‘सारा देशका अगाडी तपाईंहरुले मलाई सूर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नुहोला । तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदातामाथि न्याय गर्नैपर्छ । जवाफ दिनैपर्छ । मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ, कतै, केही लेख्न बोल्न पर्दैन । दायाँ बायाँ केही कुरा नगर्नुहोला । बस्, तपाईं मलाई यत्ति मात्र भन्नुस्, म कहिले कहाँ तपाईंका आरोपहरुको जवाफ दिन आउँ ?’ गृहमन्त्री लामिछानेले कांग्रेसले आफूमाथि कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको बताउँदै आफूले त्यसको जवाफ सदनमा उभिएर दिन चाहेको तर प्रधानमन्त्रीसँग जवाफ मागिएको बताएका छन् । उनले प्रधानमन्त्रीको जवाफ पाएपछि कांग्रेसलाई संसदीय समिति चाहिएको भन्दै असन्तुष्टि जनाएका छन् ।