काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्दले माओवादी केन्द्रसित एकताको विषयमा छलफल भइरहेको बताएका छन् । छलफल सकारात्मक भएको उनले जानकारी दिए । यद्यपि अहिले नितान्त मोर्चाको विषयमा छलफल भइरहेको छ विप्लवले बताए ।
‘एकताको कुरा नीतिगत कुरा हो । यस विषयमा निरन्तर कुरा भइरहेकै छ किनकि नेपालको कम्युनिस्ट आन्दोलनको बारेमा एउटा नयाँ बहस आवश्यक छ’, संचारमाध्यमसित उनले भने, ‘माओवादीहरुबिचको एकताको कुरा पनि आवश्यक छ भन्ने कुरा चलिरहेकै छ । त्यसमा सकारात्मक छ ।’
२०६९ साल असारमा तत्कालीन एकीकृत माओवादीबाट अलगिएका विप्लव पछिल्लो समय माओवादीसँग नजिकिएका छन् । द्वन्द्वकालीन मुद्दाको विषय अदालतमा प्रवेश हुन थालेपछि पूर्वमाओवादी घटकहरूबिच एकताको विषयमा छलफल भइरहेको छ । विप्लवको पार्टीसँग एकता गर्ने विषयमा शीर्ष तहमा छलफल भइरहेको माओवादी नेताहरूले बताएका छन् ।
यस्तै माओवादी र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीबिच एकता हुने सहमति भएको थियो । तर गत शनिबार प्रधानमन्त्री निवास बालुवटारमा नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षधरले अध्यक्ष बाबुराम भट्टराईलाई बाइपास गरी एकता सहमतिमा हस्ताक्षर गरेपछि पार्टी नै विभाजित भएको छ ।