काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा बिहीवार सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका छन् ।
उनले बयान दिए पनि उनीविरुद्ध मुद्दा चलाउने या नचलाउने भन्ने विषयमा अहिले नै टुङ्गोमा पुगिनसकेको सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए । अरु थप प्रमाण संकलन गर्ने काम भइरहेको छ त्यसपछि मात्रै मुद्दा चल्ने या नचल्ने बारे निर्णय हुने श्रेष्ठको भनाई छ ।
बयान दिएर निस्किएपछि चौधरीले पत्रकारहरूसँग कुरा गर्दै अनुसन्धानमा सघाउन “मौखिक रूपमा बोलाइएपछि” आफू आएको बताए । उनले संसद्मा उक्त प्रकरणबारे आफूले स्पष्ट पारिसकेको पनि बताए ।
राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै उनले नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्ने कुराको हेक्का राज्यले राख्नुपर्ने बताए । आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउन आवश्यक नरहेको उल्लेख गरे ।
उनले राज्यले यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानीकर्तालाई विशुद्ध राख्न आवश्यक रहेको बताए । सांसद चौधरीले आफूलाई सरकारी वकिलको कार्यालयबाट मौखिक रुपमा उपस्थित हुन भनेपछि आफूले उपस्थिति जनाएको बताए ।
आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि सहयोग गर्न उपस्थित भएको बताउँदै उनले ४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाई पब्लिक—प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नवीनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद् रहेको उल्लेख गरे ।