काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सुन तस्करी प्रकरणमा हालै पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराबारे टिप्पणी गरेका छन् । उनले पञ्चायतकालको एक प्रसंग स्मरण गर्दै आफैंले पालेको खसी काटेर चोखिन खोजिएको हो कि भन्ने आशंका व्यक्त गरे ।
‘मलाई सम्झना आउँछ। पञ्चायतकालमा एकचोटी राजाका एडीसी र तत्कालीन प्रहरी प्रमुख नै समातिएका थिए । म पत्रकारितामा पनि रुचि राख्थेँ । त्यतिबेला राजेश्वर देवकोटा भन्ने पञ्चायतका ठूलै नेता हुनुहुन्थ्यो । उहाँको अन्तर्वार्ता लिन जाँदा त्यस घटनाबारे भन्नुभएको थियो- बाबु, आफूले पालेको खसी काट्नु कुन ठूलो कुरा हो ? राजाको शासनकालमा त्योभन्दा धेरै बोल्नुभएन । अहिले यी सबै प्रकरणमा पनि आफैंले पालेको खसी काटेर चोखिन खोजेको त होइनन् भन्ने आशंका जनतामा जन्मिएको छ’, उनले भने ।
भट्टराईले सबै अनियमितता छानबिनका लागि एउटा उच्चस्तरीय अंग बन्नुपर्ने बताए । त्यसले सबैमाथि छानबिन गरेर स्वतन्त्र र निष्पक्ष ढंगले कारबाही गर्ने हैसियत राख्नुपर्छ र गरिनुपर्छ भन्ने आफ्नो भनाइ रहेको बताए ।
‘यहाँ त एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ। आफ्नालाई चोख्याउने र अरुलाई फसाउने हुन्छ । के हो के हो, ठेगान पनि छैन । फेरि साना माछा र ठूला माछा भन्ने कुरा पनि छन् । ठूला माछाको संरक्षणका लागि साना माछालाई फसाइएको पनि हुनसक्छ’, उनले भने ।