• मंसिर १३ २०८१, बिहीबार

गाँजा खेती गर्ने र मदिरा नियमन बारेको विधेयक ल्याउँदै गण्डकी सरकार

फाल्गुन १८ २०८०, शुक्रबार

पोखरा । गण्डकी प्रदेश सरकारले चालु हिउँदे अधिवेशनमा दर्जन भन्दा बढी विधेयक ल्याउने तयारी गरेको छ । बुधवारदेखि अधिवेशन सुरु भएको छ । पहिलो दिन यसअघि संसदीय समितिमा छलफलका क्रममा रहेको आमसञ्चार विधेयक र बिउ बिजनसम्बन्धी विधेयक संशोधित प्रतिवेदन सहित संसदमा पेस गरिएको छ ।

पहिलो बैठकमा प्राइभेट फार्म दर्ता सम्बन्धी विधेयक पनि ‘टेबुल’ गरिएको छ । सडक सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यही अधिवेशनमा सरकारले जीवनाशक विषादी व्यवस्थापन विधेयक, साझेदारी फार्मको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक ल्याउने बताएको छ ।

यस्तै, जनस्वास्थ्य विधेयक, भूमि विधेयक, दलित सम्बन्धी विधेयक, खाद्य विधेयक, विद्युत् र जलश्रोत विधेयक ल्याउन तयारी भइरहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार यही अधिवेशनमा घरेलु मदिरा नियमन र व्यवस्थापन विधेयक तथा गाँजा खेती गर्ने विधेयक पनि ल्याउन लागिएको छ ।

दुवै विधेयकको मस्यौदा सरकारले बनाइसकेको छ । यसमा सरोकारवाला र विज्ञहरूसँग छलफल गरिरहेको उनले बताए । ‘हिउँदे अधिवेशनमा सकेसम्म धेरै विधेयकहरू सरकारले ल्याउन लागिरहेको छ । केही विधेयकको मस्यौदा बनिसकेको छ, केही बाँकी छन्,’ उनले भने ।

स्थापनादेखि हालसम्म प्रदेशसभाबाट ६६ वटा ऐन पारित भैसकेको छ । थप ३८ वटा विधेयक सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने विवरण प्रदेश सरकारले निकालेको प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले बताइन् ।