काठमाडौं । काठमाडौंको गोंगबुँस्थित दीपज्योती टोलमा भैरवको प्रतिमा स्थापना गरिएको छ । टोखा नगरपालिका वडा नम्बर ९ को कार्यालयसँगै रहेको श्री मुक्तेश्वर महादेव मन्दिर परिसरमा सो भैरवको प्रतिमा स्थापना गरिएको हो ।
मुक्तेश्वर महादेव मन्दिरको प्राङ्गणमा रहेको भैरव पाटीमा सो गोंगबु भैरवको प्रतिमा स्थापना गरिएको हो l सो पाटीको कार्यमा टोखा नगरपालिकाको करिव २७ लाख र भैरवको प्रतिमाको लागि साढे पाँच लाख खर्च भएको निर्माण पक्षले जानकारी दिएको छ ।
भैरवकाे प्रतिमा निर्माण समितिका अधक्ष रत्नप्रसाद अनामणि श्रेष्ठले जानकारी दिए अनुसार भैरव महादेवको रौद्ररुप भएको र यसले टोखा नगरवासीलाई रक्षा गर्ने मान्यता रहेको छ । बिहीबार विहान बाजागाजासहित नगर परिक्रमा गराई सो प्रतिमालाई मन्दिरमा स्थापना गरिएको हो ।
भैरवको प्रतिमा नगर परिक्रमा गराउने कार्यक्रममा वडा अध्यक्ष रामभक्त घिमिरे लगायत केदार पाठक, डा. शैलेन्दुप्रकाश नेपाल, डा. दामोदर पुडासैनी, डा. सत्यराज थपालिया, पूर्वसेनानी टंकबहादुर खत्री, पूर्णनारायण मानन्धर, निरन्जन सेढाई, गोविन्दप्रसाद पाठक, रविनराम श्रेष्ठ, राजेन्द्र घिमिरे र मुर्तिकार महेश तुलाधर, गन्यमान्य व्यक्ति, सञ्चारकर्मी, उद्योगी, व्यापारी, पञ्चेबाजा समूह, खैंजडी भजन समूह, महिला तथा धर्मप्रति आस्थावानहरुको सहभागीता रहेको थियो । प्रतिमा स्थापना समाराेहमा ५ सय बढीको सहभागिता रहेको आयोजक पक्षले जनाएकाे छ ।
भैरवलाई जुन ठाउँमा स्थापना गरिन्छ, त्यहाँ सोही नामबाट नामाकरण गरिने भएकोले गोंगबुँमा स्थापना गरिएको भैरवको नाम गोंगबुँ भैरव राखिएको छ । नुवाकोट भैरव, पचली भैरव, टिका भैरव जस्ता नामहरु ठाउँ अनुसार राखिएका भैरवका नामहरु हुन् ।