• मंसिर १३ २०८१, बिहीबार

सर्वाेत्तम सिमेन्टको आईपीओमा फागुन १३ देखि आवेदन दिन सकिने

फाल्गुन ३ २०८०, बिहीबार

काठमाडौं । यसअघि न्यूनतम एक हजार रुपैयाँको आईपीओ भर्दै आएका लगानीकर्ताले अब निष्कासन हुन लागेको सर्वाेत्तम सिमेन्टको आईपीओ भने त्यति रुपैयाँमा भर्न नपाइने भएको छ ।

कम्पनीले पहिलोपटक बुकबिल्डिङ विधिद्वारा फागुन १३ गतेबाट आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । यो अनिवार्य हो । ५० कित्ताभन्दा कम सेयरमा आवेदन दिन पाइने छैन ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसअघि आयोजना प्रभावित जिल्लाका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन गरिसकेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम ५० कित्तादेखि १० हजार कित्ता सेयरमा आवेदन दिन सकिनेछ । आवेदन छिटोमा फागुन १६ सम्म खुल्ला रहने छ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे फागुन २७ गतेसम्म आवेदन खुल्ला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सीडीएस एन्ड क्लिरिङको वेबसाइट मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

कस्तो छ ३ वर्षको वित्तीय प्रक्षेपण ?

चालु आर्थिक वर्ष २०८०।८१ मा सर्वोत्तम सिमेन्टको प्रतिशेयर नेटवर्थ २०७.२२ रुपैयाँ रहने अनुमान गरिएको छ। आव २०८१।८२ नेटवर्थ २०४.३३ रुपैयाँ र आव २०८२।८३ १९९.८२ रुपैयाँ कायम हुने कम्पनीको प्रक्षेपण रहेको छ।

यसैगरी चालु आर्थिक वर्ष २०८०।८१ मा सर्वोत्तम सिमेन्टको प्रतिशेयर आम्दानी (ईपीएस) १७.८२ रुपैयाँ रहने अनुमान गरिएको छ। आव २०८१।८२ मा ईपीएस २२.११ रुपैयाँ र आव २०८२।८३ मा २५.४९ रुपैयाँ कायम हुने कम्पनीको प्रक्षेपण रहेको छ।

आगामी ३ वर्ष अर्थात आव २०८२।८३ मा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ८ अर्ब ७२ करोड पुग्ने प्रक्षेपण गरिएको छ। आव २०८२।८३ मा नाफा पनि बढेर १ अर्ब १८ करोड रुपैयाँ हुने अनुमादन गरिएको छ। अघिल्लो २ वर्षमा भने कम्पनीको आम्दानी क्रमशः ७ अर्ब ८९ करोड रुपैयाँ र ८ अर्ब १४ करोड रुपैयाँ कायम हुने प्रक्षेपण गरिएको छ।

त्यस्तै आव २०८०।८१ मा नाफा ८२ करोड ८४ लाख रुपैयाँ र आव २०८१।८२ मा १ अर्ब २ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षमा सर्वोत्तम सिमेन्टको सिमेन्ट उत्पादन क्षमता ७५ प्रतिशत र क्लिंकर उत्पादन क्षमता ८२ प्रतिशत रहने अनुमान गरिएको छ। आव २०८१।८२ मा सिमेनट उत्पादन क्षमता बढेर ८० प्रतिशत र क्लिंकर उत्पादन क्षमता बढेर ८६ प्रतिशत तथा आव २०८२।८३ मा सिमेन्ट उत्पादन क्षमता बढेर ८५ प्रतिशत र क्लिंकर उत्पादन क्षमता बढेर ९० प्रतिशत पुग्ने प्रक्षेपण रहेको छ। कुल बिक्रीमध्ये निर्यात प्राप्त हिस्सा क्रमशः १० प्रतिशत, १५ प्रतिशत र २० प्रतिशत हुने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०७९।८० सम्म जगेडामा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने आइपीओ बिक्रीपछि चुक्तापुँजी ४ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ।

शेयर निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यमस्तरको क्षमता रहेको कम्पनी जनाउँछ।

सर्वोत्तम सिमेन्टको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल तथा सहनिष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन्।