• मंसिर १५ २०८१, शनिबार

कांग्रेसले हामीलाई फेरी धोका दियोः वर्षमान पुन

माघ १३ २०८०, शनिबार

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।

गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले विश्वास गुमाएको टिप्पणी गरे। हरेक पटकका निर्वाचनमा कांग्रेसलाई इमान्दारीतापूवर्क मत दिने तर, धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ थियो।

‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ। कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,’ पुनले भने,‘यो गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ? हामी हरेक चुनावमा इमान्दार भएर कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ?’

यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले यो पटक त्यत्तिले मात्र नपुग्ने बताए। पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रियसभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे।