काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीको रैथाने वाली खरिद गर्ने भएको छ ।
कम्पनीको कर्णाली प्रादेशिक कार्यालयले १९ हजार ४ सय ६४ मेट्रिक टन यहाँको रैथाने बाली खरिद गर्ने भएको हो ।
यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कर्णाली प्रदेशमा उत्पादित रैथानेबालीको सङ्कलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र (मिल) स्थापना गर्नेसम्बन्धी मन्त्रालय र व्यापार कम्पनीबीच शुक्रबार समझदारी भएको हो । उक्त समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डा नरहरिप्रसाद घिमिरे र कम्पनीको तर्फबाट निमित्त प्रादेशिक प्रमुख माधव मिश्रले हस्ताक्षर गरेको हो ।
समझदारी पत्रअनुसार व्यापार कम्पनीले कोदो ८ हजार ६ सय ६०, कागुनो ३ सय ३८, चिनो ६ सय ८७, जुनेलो २, फापर ७ सय ६२, उवा ६ सय १९, सिमी ४ हजार ४ सय ७० र मार्सी धान ३ हजार ८ सय ८६ गरी कूल जम्मा १९ हजार ४ सय ६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने सहमति भएको सचिव डा घिमिरेले जानकारी दिए ।
समझदारी पत्रअनुसार प्रथम पक्ष भनिएको मन्त्रालयले मातहतका कार्यालयलाई वार्षिक कार्यक्रममार्फत कृषकलाई रैथानेबाली उत्पादन तथा प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्न निर्देशन दिने, प्रदेशस्तरीय रैथानेबालीको प्रशोधन, लेवलिङ र प्याकेजिङका मेसिनरी उपकरण व्यवस्था गर्न बजेटको प्रबन्ध मिलाउने, यसको उत्पादन परिमाण तथा कृषकको तथ्याङ्क उपलब्ध गराउनेलगायतका जिम्मेवारी पूरा गर्नुपर्नेछ ।