काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ ।
एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको पनि सुरक्षाबेस स्थापना गरिएको छ ।
सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली परिचालन हुनेगरी सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता राजेन्द्र खड्काले बताए । त्यसैगरी विपद्जन्य घटनामा तत्काल परिचालन हुनेगरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । विपद् व्यवस्थापनको काममा तत्काल परिचालन गर्नका लागि ती बेस स्थापना गरिएको पनि प्रवक्ता खड्काले बताए ।
बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बलले प्रतिआतंकवाद उपशाखा स्थापना गरी काम सुरु गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न सो सम्बन्धि डेस्क नै स्थापना गरेर काम भइरहेको पनि बलका प्रवक्ता खडकाले बताए ।