काठमाडौं । एनसेलको सेयर खरिद बिक्रीको छानबिन गर्न बनेको उच्चस्तरीय समितिले आगामी माघ १५ गतेभित्रै प्रतिवेदन बुझाउने भएका छन् ।
बिहीबार सूचना तथा सञ्चार समितिको बैठकमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त समितिले माघ १५ भित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी गराइन् ।
‘छानबिन तीव्रता साथ अगाडि बढेको र निष्कर्षमा पुग्न लागेको जानकारी आएको छ,’ बैठकमा बोल्दै मन्त्री शर्माले भनिन् ।
सरकारले मंसिर २१ गते एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा छानबिन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । जसको सदस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् ।