• मंसिर ११ २०८१, मंगलवार

माघे पर्व : अद्भूत नेपाली संस्कृति

माघ १ २०८०, सोमबार

सरोज भट्टराई,

माघे सङ्क्रान्ति माघ १ गते पर्दछ । माघको शुभ महिनाको सुरूवातको रूपमा मनाइन्छ । लामो र तातो दिनको अग्रदूत हो माघे सङ्क्रान्ति ! त्यो दिन हो जब सूर्य उत्तरी गोलार्धतर्फ सर्ने विश्वास गरिन्छ । यो दिन शक्ति र बुद्धिको प्रतिक हो । माघे सङ्क्रान्तिलाई मैथिलीमा माघी, नेपाल भाषामा घ्यःचाकु संल्हु पनि भनिन्छ । पूर्वी दर्शन र ज्योतिष शास्त्रमा यसले सूर्यको एक राशिबाट अर्को राशिमा स्थानान्तरणलाई जनाउँछ ।

मगर समुदाय यसलाई माग्या सगराती भन्दछन् । सरल परिभाषामा नेपाली क्यालेन्डरमा महिनाको पहिलो दिनलाई सङ्क्रान्ति भनिन्छ । यस अर्थमा एक वर्षमा १२ वटा सङ्क्रान्तिहरू हुन्छन् । मकर सङ्क्रान्ति भनेको सूर्यको धनु राशिबाट मकर राशिमा हुने सङ्क्रमण हो । हिन्दू ज्योतिषशास्त्रमा वर्षभरिको सूर्यको स्थितिलाई १२ राशिमा विभाजन गरिएको छ ।

तर, विक्रम सम्वत् महिना, राशि महिना र चन्द्र पात्रोका महिनाहरूबीच मेलमिलाप गर्न निकै गाह्रो छ । जबकि परम्परागत क्यालेन्डर चन्द्र स्थितिमा आधारित छ, सङ्क्रान्ति एक सौर्य घटना हो । विशेषगरी चितवनको देवघाटमा हिन्दू धर्मावलम्बीहरूले पवित्र नदीहरूको सङ्गममा नुहाउने गरी यो पर्व मनाउँछन् । दिनमा परिवारहरू सँगै बस्छन् । सँगसँगै खाना खान्छन् ।

तिलको लड्डु, गुड़, घिउ, मीठो आलु र तरूल यस पर्वको मेनुमा समावेश हुन्छन् । मानिसहरूले महिनामा भगवान विष्णुलाई पुजा गरेर र पवित्र भगवद् गीता पढेर पूजा गर्छन्, जसलाई देवताहरूको गीत पनि भनिन्छ ।

थारू समुदाय : माघी वा नयाँ वर्ष तराईका विभिन्न क्षेत्रमा माघे सङ्क्रान्तिलाई माघी वा नयाँ वर्ष भनिन्छ । मुख्यतया थारू समुदायले मनाउने गर्छन् । यो पर्व पूरै हप्तासम्म चल्छ । परिवारहरू सँगै भेला हुने, परम्परागत खाना खाने, स्थानीय मेलाहरू भ्रमण गर्ने र रमाइलो गर्ने गर्छन् ।

माघे : कर्णाली प्रदेश कर्णाली प्रदेशमा माघको पहिलो दिनलाई माघे भनिन्छ । फसल काट्ने समय र कृषिको नयाँ सिजनको सुरूवातको रूपमा मनाइन्छ । यसले लामो तातो दिन र वसन्त ऋतुको सुरूवातलाई सङ्केत गर्छ ।

यस दिन हिन्दू धर्मावलम्बीहरूले गर्ने प्रमुख कार्य नदी सङ्गममा पवित्र स्नान गर्नु हो । चितवनको देवघाटमा सबैभन्दा ठूलो तीर्थ मेला लागदछ । तिलको लड्डु, गुड़, घिउ, मीठो आलु, तरूल, मासु आदिजस्ता परिकार आफन्त र समाजमा बाँडेर खाने गर्दछन् ।

मगर समुदाय परिवारसँग न्यानो शुभकामना आदानप्रदान गर्ने, उसिनेको तरूल र यसका परिकार खान्छन् । छोरीहरूलाई समृद्धिको कामना गर्दछन् । मगर समुदायमा यो पर्व निकै लोकप्रिय छ ।

माघे सङ्क्रान्तिमा भ्रमण तथा स्नान गर्ने ठाउँ :

१. बागमती : हिन्दूहरूले पवित्र नदीहरूमा पवित्र स्नान गर्ने अनुष्ठान पछ्याउँछन् । काठमाडौंमा शंखमुलको पाटन नजिकै बागमती नदीमा पुगी स्नान गरेर मानिसले धुमधामका साथ यसलाई मनाउँछन् ।

२. नारायणी नदी : नवलपरासीका मानिसहरूले नारायणी नदीमा स्नान गरी पर्व मनाउँछन् ।

३. कोशी नदी : दोलालघाटमा कोशी नदीमा पवित्र स्नानको अनुष्ठान समपन्न हुन्छ ।

४. तारूका गाउँ : अचम्मको गोरू लडाइँको मजा लिन नुवाकोट जान सकिन्छ । तारूका गाउँमा माघ महिनाको पहिलो दिन गोरूको लडाइँ हुने गरेको छ ।

माघे सङ्क्रान्तिको पौराणिक कथा छ । भाडगाउँ (अहिले भक्तपुर) का एक व्यापारीले राम्रो व्यापार गरिरहेका थिए । उनको तिलको राम्रो बिक्री भयो, तर स्टक कहिल्यै सकिएन । उनले यसको कारण के हो भनेर सुराक खोजे ।

स्टकको थुप्रो सफा गर्दै उनले बीउमुनि भगवान विष्णुको मूर्ति भेट्टाए । त्यसपछि मूर्तिलाई तिलमाधवको मूर्तिका रूपमा पुज्ने गरिन्छ । मूर्तिको पूजा गर्नाले भक्तपुरमा खाद्यान्न, समृद्धि र ऐश्वर्य प्राप्त हुने जनविश्वास छ ।

भीष्म पितामह महाकाव्य महाभारतमा गङ्गा नदी र राजा सन्तनुका पुत्र थिए । उनको इच्छा मरण थियो । उनी बाणको ओछ्यानमा सुतिरहेका थिए । सूर्य उत्तरायण भएपछि मात्र प्राणत्याग गर्ने उनको इच्छा भएकाले माघीको अष्टमीका दिन उनले प्राण त्याग गरे । यसलाई भीष्माष्टमी भनेर पुकारिन्छ ।

नेपालीहरूले देशैभरका प्रमुख नदी किनारमा स्नान गरी घाममा तेल मालिस गर्ने गर्दछन् । थारू समुदायका मानिसहरूले यस पर्वमा आफ्नो विशेष परिकार रक्सी, माछा, सुँगुर, र ढिकरी खाएर यो पर्व मनाउँछन् । यो समुदायले सार्वजनिक स्थानमा भेला भई सांस्कृतिक नाचगान गरेर चाड मनाउने र आगामी वर्षको योजना बनाउने गर्दछन् ।

त्यसैगरी किरात समुदायको ५,०८३ वर्ष पूरा भएको हो । यलम्बरको शासनकाल किरात पात्रोबाट सुरू भएको मानिन्छ । तेह्रथुम, इलाम, पाँचथर, धनकुटा, संखुवासभा र ताप्लेजुङका किराँतीहरूले आज सांस्कृतिक नृत्य र मौसममा पाइने स्वादिष्ट खानेकुराका साथ नयाँ वर्ष मनाउँछन् ।

उनीहरू वृद्धवृद्धाको घरघरमा गएर आशीर्वाद लिन्छन् र यस अवसरमा विभिन्न नाचगान, गाउने र रमाइलो गतिविधिहरू आयोजना गर्छन् । बराहक्षेत्र सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक स्थलमा मकर सङ्क्रान्ति पर्व मनाइन्छ । माघे सङ्क्रान्तिको अवसरमा कोशी र कोका नदीको संगममा अवस्थित बराहक्षेत्रमा भक्तजनको भीड लाग्ने गर्दछ ।

यस पर्वका अवसरमा दुई नदीको संगमस्थल कोका–कौशिकीमा स्नान गरे पापमुक्त हुने धार्मिक विश्वास रहेको छ । त्यसैले यो पर्वको नेपाली जनतामा ठूलो महत्व छ । यसले गर्मी र बाली र अन्नको वृद्धिलाई स्वागत गर्दछ ।