• माघ १८ २०८१, शुक्रबार

बिदा-मेरो प्यारो गुरु, रुँदै भन्छु-बिदा-बिदा !

पुष २९ २०८०, आईतवार

खुसी छैन आज यो मन, हाँस्दैन यो रङ्गीन फूल

मनै चङ्गा नभए’छि जीवन बन्ने रै’छ शूल

प्रियजनको बिछोडले धर्की-धर्की रुन्छ यो मन

निर्जन लाग्छन् कोठा-चोटा, बैरागिँदा लाग्छन् यी वन !

उच्च थिए सपना हाम्रा, लक्ष्य थियो शिखरसम्म

जस्तासुकै कठिनाइ पार गर्ने क्षितिजसम्म

कहाँ लाग्यो, कहाँ दुख्यो, कति गर्याै ऐयाऽआत्था ?

निष्ठुरी त्यो क्रूर मृत्यु किन आयो जस्तो लाग्छ !

‘भेटौँला नि छिट्टै हामी, कोरौँला नि नयाँ बाटो’

भन्दै मुस्काराउँदै हामी छुटेका थ्यौँ, घरैबाट

पत्याउन मुस्किल पर्ने, सहन झन् गाह्रो पर्ने

कस्तो बाटो हिँड्यौ तिमी ? प्रियजन नि शोकमै मर्ने !

दख्खल थियो दर्शन र भौतिकवादी सिद्धान्तमा

मार्क्सवादी सौन्दर्य र समीक्षा-समालोचना

सिर्जना र बौद्धिकता परिचय थियो तिम्रो सरलता,

इमानदारी, गम्भीरता छनक तिम्रो !

आफू कता बिलाई गयौ देखाई हाम्लाई एउटा बाटो

नपुरिने छोड्यौ घाउ, कहिले बस्ला यसमा खाटो

सङ्घर्षमै बित्यो जीवन, अमर तिम्रा विचार छन्

पुस्तक र शोधग्रन्थमा विचारहरू घुलित छन् !

जीवनभरि श्रम, सीप, बौद्धिकता रोप्यौ यहाँ

श्रम–फल लाग्ने बेला फुत्त छोडी गयौ कहाँ ?

शीला आमा, साथीहरू हेरिरा’छन् तिम्रै बाटो

निष्ठुरी र छली रै’छौ झुक्याई हिँड्यौ अर्कै बाटो !

बेलाबेला टोलाइर’न्छु, ‘सर’ भनी बोलाइर’न्छु

तिम्रा मीठा कुरा सम्झी दुवै आँखा डोलाइर’न्छु

आऊ न प्यारा, सहृदयी, स्वाभिमानी स्रष्टा तिमी

सिकाइदेऊ न जीवनगाथा, कहाँ गयौ द्रष्टा तिमी !

मृत्यु जित्ने बौद्धिक योद्धा, कहाँ गयौ–छोडी पीडा

बिदा-मेरो प्यारो गुरु, रुँदै भन्छु-बिदा-बिदा !

दुई दिन बित्यो भन्छन् तर मन छैन अझै ढुक्क

मीठो स्वरले बोलाउँछौ झैँ लागिर’न्छ कुक्क–कुक्क !

(२०८० पुस २७ गते दाङको भालुबाङमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउन पुगेका माक्सर्वादी चिन्तक, साहित्कार प्रा.डा. ताराकान्त पाण्डेयको सम्झनामा ।)