काठमाडौं । बलात्कार मुद्दामा अदालतबाट दोषी ठहरिएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (परिवर्तित नाम)को परिचय सार्वजनिक गर्नेहरूमाथि प्रहरीले अनुसन्धान शुरू गरेको छ।
बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंले पुस २५ मा लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको थियो। त्यससँगै पाँच लाख जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो। यसअघि पुस १३ मा उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो।
अदालतले सजाय तोकेसँगै गौशाला २६ को भन्दै तस्वीर र परिचय सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो। उनलाई गालीगलौज पनि गरिएको थियो।
सामाजिक सञ्जालमा गौशाला २६ को परिचय सार्वजनिक गर्ने व्यक्तिहरूमाथि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ। विद्युतीय कारोबार सम्बन्धी ऐन अनुसार कारबाहीका लागि अनुसन्धान गर्न पत्राचार गरिसकिएको नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताए।