• मंसिर १५ २०८१, शनिबार

विदेशीको इसारामा होनहार खेलाडी सन्दीपलाई बलि चढाइयो : सांसद पाठक

पुष २५ २०८०, बुधबार

कास्की । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद सुनाएपछि गण्डकी प्रदेशसभाका एकजना सदस्यले असन्तुष्टि जनाएका छन् ।

आज अदालतले सन्दीपलाई आठ वर्ष कैद सजाय सुनाएको छ । अदालतले तीनलाख जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति दिन भनेको छ ।

तर, अदालतले सन्दीपलाई सजाय तोक्दा गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले ‘विदेशी इसारामा बलि चढाइएको’ टिप्पणी गरेका छन् । एमाले सांसद रहेका उनले फेसबुकमा लेखेका छन्,‘एउटा होनहार क्रिकेटरलाई विदेशीहरूको इसारामा बली चढाइयो ।’

उनको अभिव्यक्तिबारे थप प्रस्ट हुन खोज्दा पाठकले आफूले व्यक्तिगत स्वतन्त्रता उपयोग गरेको बताए । ‘सांसद भए पनि व्यक्तिगत स्वतन्त्रता हुन्छ । यो मेरो व्यक्तिगत प्रतिक्रिया हो । मैले अरू विषयमा पनि लेखिरहेकै हुन्छु ।’

यसअघि पनि सन्दीपले क्रिकेटमा पाइरहेको सफलताबाट पन्छाउन विदेशीले मान्छे किनेर उनलाई बलात्कार मुद्दामा फसाइएका टिप्पणीहरु भएका थिए ।