• जेष्ठ ७ २०८३, बिहीबार

बलात्कार आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जन काठमाडौंबाट पक्राउ

पुष २४ २०८०, मंगलवार

काठमाडौं । भूमिगत रहेका ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बूढानीलकण्ठबाट पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । कुनै बेला ‘लिटिल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि गुमनाम थिए ।

उनी सम्पर्कविहीन भएपछि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । तर, त्यो बेलासमेत प्रहरी रित्तो हात फर्किन बाध्य भयो । बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका-८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधा सम्पन्न आश्रम बनाएका थिए । आश्रमभित्र आफ्ना लागि छुट्टै दरबार समेत निर्माण गरेका थिए ।

बम्जनको आश्रममा छिरेका प्रहरी अधिकारीका अनुसार, उनले आफ्ना लागि आश्रमभित्र स्वीमिङ पूल, जिमखानादेखि अन्य धेरै निजी सुविधा सम्पन्न हल निर्माण गरेका थिए । आश्रमका चारै नाकामा उनले निजी सुरक्षा चेक पोस्टसमेत राखेका थिए । पाँच वर्षदेखि प्रहरीले भुइँपत्ताल खोज्दा पनि भेटिएनन् तपस्वी रामबहादुर बम्जन बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ ।

त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए । जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् ।

सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ । प्रहरीले बम्जनका आश्रमहरूबाट यसअघि शब गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू बरामद गरेको थियो ।

बम्जनमाथि सर्लाही, नुवाकोट र मकवानपुरबाट आश्रम आएका तीन युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।