काठमडाौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउनु राजनीतिक व्यवस्था माथिकै गम्भीर प्रहार भएको बताएका छन् । चुनाव हारेकाहरू राष्ट्रिय सभा उम्मेदवार भएकोमा लामिछानेले आपत्ति पनि जनाएका छन् ।
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनाव हारेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदसमेत रहेका लामिछानेले चुनाव हारेकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भीर प्रहार गरेको बताए ।
उनले राज्यका सबै जिम्मेवार निकायमा मेरिटका आधारमा चयन गरिनुपर्ने बताए । संवैधानिक परिषदको सदस्यहरुको नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानूनमै व्यवस्था हुनुपर्ने उनको भनाइ छ । लामिछानले राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी भएको पनि बताएका थिए ।
‘चुनाव हारेका मानिसहरू राष्ट्रिय सभामा उठिरहेका छन्,’ उनले भने, ‘तपाईंहरुले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि । त्यसैगरी तपाईंको मुटुमा अर्को ढुंगा बस्छ । फेरि अर्को ढुंगा राखेर तपाईंहरु हाँस्नुपर्ने अवस्था आउँछ । मलाई विश्वास छ–यहाँहरुको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि । गोली थाप्ने, छाती थाप्न अगाडि बढन पाएन । मौका परे हामी पनि चुक्दैनौं । त्यसका लागि हामी पनि गोली थाप्छौं तर त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदा व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदा यहाँहरुले गर्ने प्रतिवाद खोइ त ?’
उनले व्यवस्थालाई थिलथिलो बनाउने काम भएको पनि बताए । ‘व्यवस्थालाई हाईज्याक गर्ने अवस्था हामी पुगिसक्यौं भने पछि फेरि संवैधानिक निकायका यस्ता ठाउँहरुमा हामीले देख्यौँ नि एक पटक प्रमुख प्रतिपक्ष दलको नेता आइदिनु भएन । अर्को पटक सभामुख आइदिनु भएन । यही कुरा निरन्तर भइरहन्छ भनेर यो बैठक बसेको हो,’ उनले भने, ‘यसले उहाँहरुको नैतिकतामा प्रश्न गर्न मिल्दैन भनेको भए त यो लज्जास्पद विषयमा हामी बस्नै पर्ने थिएन नि ।’