काठमाडौं । सधै पहुँच भएकाहरूले मात्रै अवसर पाएको भन्दै नेकपा माओवादी केन्द्रमा हुम्लाका जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभाको निर्वाचन पटकपटक भए पनि आफ्नो क्षेत्रलाई बेवास्ता गरेको भन्दै भोट नहाल्ने निर्णय भएको एक प्रतिनिधिले बताए ।
‘हामी सधै भोट मात्रै हालिरहने भयौँ । जनमत र जनआधारको मतको हिसाबले पाउनुपर्यो भन्ने दाबी हो,’ ती नेताले भने,‘जसको हातमा डाडुपन्यु छ, उसैको हुने भयो । हामी सधै रैतीजस्तै भएर बस्न सक्दैनौँ । हामी यसपटक मतदान गर्दैनौँ ।’
हुम्लामा दुईजना प्रदेश सदस्य र ६ जना स्थानीय तहका प्रतिनिधि मतदाता छन् । जसमा कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियार, जुम्कित लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिंह रहेका छन् । शनिबार नै उनीहरूले प्रदेश इन्चार्जलाई आफ्नो निर्णयबारे प्रदेश इन्चार्ज मातृका यादवलाई जानकारी गराएका छन् ।
हुम्लाबाट दिपेन्द्र रोकाया उमेदवारमा सिफारिस भए पनि माओवादीले कालिकोटका विष्णु विकलाई उमेदवार बनाएको छ ।