काठमाडौं। नेपाल मगर महिला संघ केन्द्रीय समितिले संस्थागत सुदृढिकरण सम्बन्धी ५ दिने तालिम सुरु गरेको छ । मगर महिलाहरुलाई संस्थागत रुपमै बलियो बनाउनका लागि संघले संस्थागत सुदृढिकरण तालिम सुरु गरेको हो ।
कार्यक्रमको उद्घाटन प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले गरेकी थिइन् । कार्यक्रममा बोल्दै उपसभामुख रानामगरले महिलाहरु नेतृत्वमा आउनका लागि ज्ञान, सीप, तालिम र अध्ययनमा जोड दिनु पर्ने बताइन् ।
कार्यक्रममा ७२ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालयबाट स्नातोत्तर गरेर दिक्षित भएकी संस्कृतिविद बमकुमारी बुढामगरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर महिला संघका संस्थापक अध्यक्ष तथा सल्लाहकार बमकुमारी बुढामगर, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर, फिमीका कार्यक्रम संयोजक सुशिला थापामगर लगायतले आआफ्ना भनाई राखेका थिए । तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ । उक्त तालिममा ४३ जना केन्द्रीय समितिका प्रतिनिधिहरुको सहभागीता रहेको संघकी अध्यक्ष हिरुसरा रानामगरले बताइन् । पहिलो दिनको प्रशिक्षण नेपाल मगर महिला संघका संस्थापक अध्यक्ष बमकुमारी बुढामगरले दिएकी थिइन् भने दोस्रो दिनको तालिममा सफल व्यवसायी तथा लेखा परिक्षक कृष्ण थापामगर र अधिवक्ता इन्दिरा श्रीसमगरले प्रशिक्षण दिए ।
कार्यक्रमको सहजिकरण महासचिव मिना काउचा घर्तिमगर र उपमहासचिव चित्राकला श्रीषमगरले गरेका थिए । कार्यक्रममा नेपाल मगर संघका सहअध्यक्ष तथा नेपाल मगर महिला संघका पूर्वअध्यक्ष गंगा खासुमगर, संघका निवर्तमान अध्यक्ष विनिता आलेमगर लगायतको सहभागीता रहेको थियो।
