• मंसिर १५ २०८१, शनिबार

हामी आफूमात्रै खुसी हुँदैनौं, छिमेकी मुलुकलाई पनि खुसी राख्छौं : चिनियाँ नेता युगाङ

पुष २१ २०८०, शनिबार

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तको स्थायी कमिटीका उपसचिव सी युगाङबीच भेटवार्ता भएको छ ।

शनिबार उपराष्ट्रपति कार्यालय लैनचौरमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा युगाङले आफूमात्रै होइन, छिमेकीलाई पनि खुसी बनाउने नीति चीनको रहेको बताए । उनले छिमेकीलाई विशेष महत्व दिएरै आफ्नो टोलीले नयाँ वर्षको अवसरमा नेपालबाटै भ्रमण सुरू गरेको प्रस्ट्याए ।

‘नेपाल र चीनबीच प्राचीनकालदेखि कायम रहेको सांस्कृतिक सम्बन्धलाई गौतम बुद्धको सिद्धान्तले थप प्रगाढ बनाएको छ । नेपाल र चीनबीच धेरै समानता छ । यो समानताकै कारण दुई मुलुकबीच उच्चस्तरीय र जनस्तरीय भ्रमणहरू बढी हुने गरेको छ,’ उनले भने,‘आफूमात्रै खुसी भएर हुँदैन, छिमेकी पनि खुसी हुनुपर्छ । छिमेकीसँग जीवनमरणको सम्बन्ध हुनुपर्छ । यसले सम्बन्धलाई थप प्रगाढ, बलियो र सुदृढ बनाउँछ ।’

उनले नेपाल चीनको सबैभन्दा नजिकको छिमेकी मित्र राष्ट्र भएको बताएका थिए । उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण एवम् घनिष्ठ सम्बन्ध हालैका वर्षमा बहुआयामिक क्षेत्रमा अझ व्यापक भएको बताएका थिए ।

‘हाम्रा दुई मुलुकहरूले लामो इतिहास बोकेको मित्रवत सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्व दिएका छन्,’ उनले भने । उपराष्ट्रपति यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको गत वर्षको सेप्टेम्बरमा सम्पन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पु‍र्याएको बताएका थिए ।

उनीहरूबीच दुई देशबीचको द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटन लगायतका विविध आयामका विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।