• मंसिर १५ २०८१, शनिबार

आफ्नो पार्टीसित छलफल नगरी भारतसित सम्झौता गरिएको भन्दै एमालेको आपत्ति

पुष २० २०८०, शुक्रबार

काठमाडौं । एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाएको छ । आजको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले भेटमा भएको सम्झौता जानकारी गराउनुपर्ने बताए ।

‘के-के विषयहरूमा सम्झौता भए भन्ने कुरा सत्ता पक्षले प्रतिपक्षसँग परामर्श गर्नुपर्ने हो तर, नगरेकोप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताको प्रश्नमा सत्तापक्षले चाहिँ प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै कामहरू गर्नुपर्नेमा त्यो मामिलामा हामीसँग कुनै परामर्श नगरिएको र के के विषयमा सहमति, सम्झौता भए भन्ने कुरा पनि स्पष्ट नपारेको सन्दर्भमा हामीले सरकारका तर्फबाट भएका कमजोरीको आलोचना गर्दै के के विषयहरूमा सहमति, सम्झौता भएका छन् । ती विषयहरूलाई स्पष्ट पार्न माग गर्ने कुरा गरेका छौँ,’ उनले भने ।

उनले नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम गर्न नहुने बताए । भारतीय विदेशमन्त्री नेपाल भ्रमण गरेर आजै फर्किएका छन् ।