• मंसिर १५ २०८१, शनिबार

विद्यार्थी संगठन ठेकेदारलाई जिम्मा लगाएको भन्दै विप्लवका २ दर्जन विद्यार्थी नेता मोहन वैद्यतिर लागे

पुष १९ २०८०, बिहीबार

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी परित्याग गरी २६ जना विद्यार्थी नेता कार्यकर्ता मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा ध्रुवीकृत भएका छन् ।

आज प्रवेश गरेका २६ जना विद्यार्थी नेताहरुलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ कार्यालय सदस्य सीपी गजुरेलले एक कार्यक्रमका बीच अबीर र खादा लगाएर स्वागत गरे । पार्टी कार्यालय कुपन्डोलमा आयोजित ध्रुवीकरण कार्यक्रममा नेता सीपी गजुरेल, विद्यार्थी संगठनका इन्चार्ज हरिकृष्ण गजुरेल र संयोजक मिलन राई लगायतका नेताहरुले विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेर ध्रुवीकरणमा आएका विद्यार्थी नेताहरुलाई भव्य स्वागत गरे ।

यसरी ध्रुवीकरणमा आउने विद्यार्थी नेता कार्यकर्तामा रविना सदाशंकर-केन्द्रीय सदस्य, हस्त विक-केन्द्रीय सदस्य तथा काठमाडौं संयोजक, छत्र विक-केन्द्रीय सदस्य तथा काठमाडौं-३ संयोजक, सुनिल भूल-केन्द्रीय सदस्य तथा काठमाडौं-४ संयोजक, बजीर नेपाली-काठमाडौं-२ जिल्ला संयोजक, हस्त विक सक्षम-काठमाडौं-६ संयोजक, नवीन परियार-काठमाडौं-१ सचिव रहेका छन् ।

त्यसैगरी ध्रुवीकरणमा आउने जिल्ला सदस्यहरुमा सुप्रिया नेपाली, देविका नेपाली, मनिषा विक, आरती नेपाली, लक्ष्मी विक, लेखराज मैनाली, अर्पण परियार, सक्षम सापकोटा, रामचन्द्र शिवाकोटी, अञ्जली तामाङ, दिवाकर, संगीता नेपाली, सुवास दुवाल, शेरबहादुर, हेमन्त बोहरा, सुनिल नेपाली, शंकर विक, महेश परियार (सिटिइभिटी सदस्य) लगायत रहेका छन् ।

अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईको अध्यक्षतामा भएको ध्रुवीकरण कार्यक्रमको सञ्चालन रुपा बुढाले गरेकी थिइन् । नेता सीपी गजुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिको रुपमा हरिकृष्ण गजुरेल, पेशल दाहाल, वीरेन्द्र शाह, रविना सदाशंकर लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

विप्लव नेकपाबाट विद्रोह गर्ने २६ जना विद्यार्थी नेता कार्यकर्ताले ध्रुवीकरणको क्रममा जारी प्रेस वक्तव्यमा विप्लवको पार्टी र संगठनमा देखा परेका विभिन्न खराबीहरुका कारण सो पार्टीले विभाजन, विचलन र क्षयीकरण भोग्न परेकोले त्यसको समीक्षा गर्दा नेताहरु रुपान्तरण गर्नुको सट्टा संगठनलाई ठेकेदारहरुको जिम्मा लगाउने, इमान्दार र क्रान्तिकारी पंक्तिलाई निषेध गर्दै जाने परिस्थिति विकसित हुँदै गएपछि आफूहरुले नेकपा विप्लवबाट सचेततापूर्वक विद्रोह गरी नेपाली कम्युनिस्ट आन्दोलनको संवाहक मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)मा ध्रुवीकृत भएको बताएका छन् ।