काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रियसभामा एमालेलाई शून्य नबनाइदिन आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग एमाले अध्यक्ष ओलीले राष्ट्रियसभामा आफूहरूलाई शून्य नबनाउन आग्रह गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
‘हामीलाई जिरो नगर्नुस् भन्ने कुरा ओलीबाट आएको थाहा पायौँ । हामीले सबै दलको बीचमा सल्लाह गरेर खास कङ्क्रिट कुरा बुझेर अघि बढौँ भनेका छौँ,’ गठबन्धन दलको बैठकपछि उनले भने । यसमा गठबन्धन दल सहमत भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले एमालेबाट स्पष्ट कुरा आइनसकेको बताए ।
‘हामी त्यसको टुंगोमा पुगेका छैनौँ । भन्न खोजेको के हो, माग के हो, क्लियर कुरा आओस् । अनि के गर्ने भन्ने निणर्य हुन्छ,’ उनले थपे । उपाध्यक्ष पाण्डेका अनुसार कांग्रेस-माओवादी बैठकमा एमालेबाट प्रस्ताव आए के गर्ने भन्ने विषयमा पनि छलफल भएको छ ।
‘कांग्रेस-माओवादीको बैठकमा ओलीजीले यस्तो प्रस्ताव लिएर आए के गर्ने भन्ने विषयमा छलफल भएको हो,’ उनले भने ।
गठबन्धनको अर्को बैठक भोलि बिहान ९ बजेका लागि बोलाइएको छ ।