• मंसिर १५ २०८१, शनिबार

राष्ट्रियसभाको सिट बाँडफाँडको लागि सत्ताधारी दलको बैठक बस्दै

पुष १८ २०८०, बुधबार

काठमाडौं । राष्ट्रियसभाको सिट बाँडफाँडको लागि सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सिट भागबण्डाबारे छलफल गर्न बैठक बसेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीका शीर्ष नेताहरू उपस्थित छन् ।

यसअघि मंगलबार र बुधबार बिहान बसेको नेपाली कांग्रेस र माओवादी केन्द्रबीच राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटबारे गठबन्धन दलहरूसँग छलफल गर्ने सहमति भएको हो ।

सो सहमति पछि गठबन्धन दलको बैठक बसेको हो । सत्ता गठबन्धनमा कसले कति सिट लिने भन्नेमा विवाद टुंगो लाग्ने सकेको छैन । माओवादी र कांग्रेसका नेताहरुबीच निरन्तर छलफल चलिरहेको छ । माघ ११ को निर्वाचनमा एमालेबाट गुम्ने सम्भावना रहेका ९ सिटमध्ये कांग्रेसले ४ सिट दाबी गरेको छ । यो सहित कांग्रेसले कुल ९ वटा सिट पाउनुपर्ने गठबन्धनमा अडान राखेको छ ।

त्यसमा संस्थापन इतर शेखर कोइराला समूहले ४ सिट मागिरहेको छ । तर, देउवा यसमा तयार देखिएका छैनन् । अन्य दलले भने अध्यक्षसहित ७ सिट लिन कांग्रेसलाई भनिरहेका छन् ।

मतभारको आधारमा भागबन्डा गर्नुपर्ने पक्षमा कांग्रेस र माओवादी केन्द्र छ भने अन्य साना सत्ता साझेदारी दलहरू पनि केन्द्रमा जस्तै सातवटै प्रदेशमा गठबन्धन गरेर रहेका छन् ।