• मंसिर १५ २०८१, शनिबार

करार कर्मचारीमा आफन्त भर्ना गर्न खोजेको सुइको पाएपछि बालेनले लिए ३ जना हाकिममाथि एक्सन

पुष १७ २०८०, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह को सचिवालय प्रमुखसहित तीन जना महानगरका कर्मचारी निलम्बनमा परेका छन् । करार कर्मचारीको विषयमा बालेनले आफ्नै सचिवालयका प्रमुखसहित तीन जना कर्मचारी निलम्बन गरेका हुन् ।

निलम्बनमा पर्नेहरूमा बालेनको सचिवालय प्रमुख रहेका नुरनिधि न्यौपाने, महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी रहेका छन् ।

नगर कार्यपालिकाको निर्णय परिवर्तन गरी करार कर्मचारीमा आफन्त भर्ना गर्न खोजेको सुइको पाएपछि बालेनले एक्सन लिएको महानगरस्रोतले जानकारी दिएको छ ।

यो प्रकरण बाहिरिएसँगै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि बिदामा बसेका छन् । निर्णय प्रक्रियामा उनीसमेतको संलग्नता देखिएको आशंकापछि अधिकारी बिदामा बसेका हुन् ।

नगरसभाले करारमा स्वास्थ्य कर्मचारीहरूको सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । नगरसभाले ५ जनाको सेवा अवधि थप गर्ने निर्णय गरेकामा कर्मचारीहरूले उक्त निर्णय सच्याएर आफूखुसी ६ जना बनाएको महानगर स्रोत बताउँछ ।

कार्यपालिकाको निर्णय प्रमुख प्रशासकीय अधिकृतले प्रमाणित गर्ने गर्दछन् । प्रमुख प्रशासकीय अधिकृतले प्रमाणीकरण गरेर बालेसम्म पुगेपछि उनले निर्णय सच्याइएको थाहा पाएका थिए । त्यसपछि बालेनले तीन जना कर्मचारी निलम्बन गरेका हुन् । यो प्रकरणमा बालेन आफैँले अनुसन्धान थालेपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारी पनि बिदामा बसेका हुन् ।