काठमाडौं । दक्षिण कोरियाले भाषा परीक्षा सम्बन्धी उत्पन्न पछिल्लो विवाद र त्यसलाई लिएर शुक्रबार बालकुमारीमा भएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ । नेपालका लागि कोरियन राजदूत पार्क टी योङको टोलीले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी सहितका अधिकारीहरुलाई भेटेका थिए ।
उनीहरुले कोरियन सरकारका कारण भाषा परीक्षाबारे विवाद उत्पन्न भएको सन्देश नजाओस् भन्नेतर्फ सचेत गराएका छन् । कोरियाली पक्षले नेपालस्थित दूतावास र कोरियाको मानव संशाधन विकास विभागका अधिकारीहरुलाई नेपालमा काम गर्न सुरक्षा जोखिम देखिएको बताएको छ ।
यसले नियमित कार्यसम्पादनमा समेत असर पुग्ने कोरियाली पक्षको गुनासो थियो । पछिल्लो विवादबारे संयुक्त प्राविधिक समूहमा छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा कोरियाली अधिकारीहरुको छ ।
कोरियासँग भएको श्रम समझदारी अनुसार श्रम सम्बन्धी समस्या र सवालबारे निर्णय गर्न सहसचिवस्तरको प्राविधिक समतिको बैठक बस्न सक्छ ।
नेपाली श्रमिकलाई रोजगार अनुमति प्रणालीको कोटामा उच्च प्राथमिकता दिएको भन्दै कोरियाली अधिकारीहरुले १३ पुसको घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपाली श्रमिकहरु परिश्रम, लनशीलता र इमान्दारिताबारे उहाँहरुले खुलेर प्रशंसा गर्नुभयो,’ भेटमा सहभागी वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, ‘पछिल्लो घटनाले उहाँहरु साह्रै चिन्तित पनि हुनुहुन्छ ।’
सन् २०२३ को पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिएका ३१ हजार भन्दा बढीले उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने माग गर्दै आन्दोलन गरेका थिए । यसक्रममा भएको झडपमा २ जना युवाको ज्यान गएको थियो ।
यो घटनाले भाषा परीक्षाका सन्दर्भमा नेपाल संवेदनशील बन्दै गएको देखाएको भन्दै कोरियाली पक्षले समस्या क्रमसँग समाधान हुने बताएका छन् ।