सल्यान । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य कमरेड आधार सीले राजतन्त्र अन्त्य गरेकोमा नेपाली जनताले गर्व गर्नुपर्ने बताएका छन् । चिनियाँ नेता माओको १३१औं जन्मजयन्तीको अवसरमा सल्यानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता आधारले यस्तो बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानले मौलोहाले बजारमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै नेता आधारले भने,‘चीनको आजको सम्पन्नता तथा वैभवले कम्युनिस्ट व्यवस्था र समाजवादको श्रेष्ठता देखाएको छ ।’
सो पार्टीको जिल्ला समिति उत्तर सल्यानले माओ दिवसको अवसर पारेर पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं, राज्य षड्यन्त्रको भण्डाफोर गरौं, भन्ने नारा सहित जिल्लामा दुई महिने अभियान आजबाट सुरु भएको बताएको छ ।
माओको जन्मजयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष तथा नेकपाकी पोलिटब्यूरो सदस्य कमरेड बन्धु सीले नेपाली क्रान्तिमा बलिदान गरेका जनताले गणतन्त्रमा अपनत्व नपाएको धारणा व्यक्त गरिन् ।
उनले भनिन्, ‘क्रान्तिमा पुरुष बराबर महिलाले पनि भूमिका निभाएको हुनाले देशमा गणतन्त्र स्थापना गर्न सफल भइएको हो ।’ अब महिलाहरु पूँजीवादी उपभोक्तावादको साधन नभएर समाजवाद स्थापनाको लागि लड्नु पर्ने उनको विचार छ । कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला समितिका भीम सीले विश्व सर्वहारा तथा श्रमजीवी वर्गका महान नेता माओको योगदान बारे चर्चा गरे ।
माओ जन्मजयन्ती तथा दुई महिने अभियान उद्घाटनको विशेष कार्यक्रम पार्टीका जिल्ला सचिवालय सदस्य मेस्सी सीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन पार्टी जिल्ला सचिवालय सदस्य तथा कुमाख गाउँपालिका इन्चार्ज मोहन पुरुष सीले गरेका थिए ।
कार्यक्रममा उपस्थितहरुलाई जिल्ला सदस्य प्रेम सीले स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय सामना परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।