काठमाडौँ । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।
नेवारी भाषामा काँचो धागोलाई कचिका भनिन्छ। महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा(खस भाषा)मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ अहिले पनि त्यो शब्दको उच्चारण हुन्छ। उहिलेका जमानामा घरेलु धागाबाट मुख टाउको छोप्ने मखरल, टोपी,र महिलाहरूले टाउकामा बाध्ने स्काप पनि बनाइन्थ्यो । सुरुवातमा धाका टोपी भनिन्थ्यो पछि गएर यसको ब्यापकता हुँदै जादा धाका टोपिलाइ नै आजकाल ढाका टोपी भनिन्छ। जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको छ । केहि मानिसहरु ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर पनि कुरा गर्छन् । तर्क गर्न र विविध कोण वा विचारबाट घटना र बस्तुको विश्लेषण गर्नु सहि भए पनि ढाका टोपी चै नितान्त नेपाली उत्पादन नै हो।
केहि विश्लेषकहरूले टाउको “ढाक्ने” हुनाले टाउको “ढाक्ने टोपी” लाई कालान्तरमा “ढाका टोपी” भनियो भनेर पनि भनेका छन् । नेपालमा धेरै प्रकारका टोपीहरु हजारौं वर्ष देखि लगाउने गरिएको छ । ढाका टोपी धेरै प्रकारका टोपीहरू मध्येको एक नेपाली टोपी हो ।