• मंसिर १३ २०८१, बिहीबार

ग्लोबल आईएमई बैंककाे क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने याेजना सार्वजनिक

पुष १५ २०८०, आईतवार

काठमाडाैं । ग्लोबल आईएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत् गरिने कारोबारहरूमा  १७ प्रतिशतसम्म छुट र १ हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

साे बैंकका अनुसार ग्राहकहरूलाई यही पुस १६ देखि माघ १७ गतेसम्मका लागि बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत् गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा १ हजार रुपैयाँको क्यासब्याक उपलब्ध गराइनेछ ।

यसका साथै, वार्षिकोत्सवकै अवसर आफ्ना ग्राहकहरूलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैंकका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरूले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलोपटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँसम्मको छुट प्रदान गर्नेे योजना सार्वजनिक गरेको छ ।

यो क्यासब्याक योजना पुस १७ देखि २३ गतेसम्म लागू हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंकले हाल देशभर रहेका आफ्ना ३५५ वटा शाखा कार्यालय, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।