काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुक्रबार बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता उदाङ्गो भएको टिप्पणी गरेका छन् ।
‘आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि एकपटक उदाङ्गो भएको छ,’ लामिछानेले भनेका छन् ।
कोरिया जान रोजगार अनुमति प्रणाली ईपीएस परीक्षा दिन नपाएपछि युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएको थियो ।
त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा भएको झडपमा परी गम्भीर घाइते भएका सुजन राउत र वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
यसै विषयमा फेसबुक स्टाटसमार्फत प्रतिक्रिया दिँदै लामिछानेले यसलाई राज्यले गरेको हत्या भएको टिप्पणी गरेका छन् । ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए । यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्,’ उनले लेखेका छन् ।