• जेष्ठ ७ २०८३, बिहीबार

सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष दर्लामी काठमाडौंबाट पक्राउ, पोखरा लगिँदै

पुष १२ २०८०, बिहीबार

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो । बिहीवार दिउँसो पक्राउ परेका उनलाई कास्की लैजाने तयारी भैरहेको छ ।

उनीसहित अध्यक्ष गितेन्द्रबाबु राई र थप १९ जनाविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका दर्लामीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

‘पक्राउ परिसक्नुभएको छ । काठमाडौँबाट पोखरा ल्याउन कास्की प्रहरी टोली गैरहेको छ,’ उनले भने, ‘उताबाट काठमाडौँको टोलीले हिँडाइसकेको छ । कास्की प्रहरीले बीच बाटोमा भेटेर पोखरा ल्याउँछ ।’
पोखरा ल्याएपछि थप प्रक्रिया अघि बढाइने थापाले बताए । सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।