काठमाडौँ । मेडिकल शिक्षण संस्थाका सञ्चालकहरूले बिहीबार सरकारलाई साँचो बुझाएका छन् । देशभरका पीसीएल नर्सिङ अध्यापन गराउँदै आएका शिक्षण संस्थाका सञ्चालकहरूले शिक्षण संस्थाको साँचो सरकारलाई बुझाएका हुन् ।
उनीहरूले शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री अशोशकुमार राई, शिक्षा सचिव सुरेश अधिकारी, संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई शिक्षण संस्थाको साँचो बुझाएका छन् ।
परिषदबाट सम्बन्धन प्राप्त गरी २०५७ सालदेखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएका देशभरका ७६ शिक्षण संस्थाहरूले २०७८ सालदेखि पीसीएसल नर्सिङ तर्फ विद्यार्थी भर्ना गर्न पाएका छैनन् । २०७७ सालमा भर्ना भएका विद्यार्थीहरूको अन्तिम परीक्षा मङ्सिर २६ गते सम्पन्न भएको छ ।
उनीहरूको परीक्षा सकिएसँगै ती शिक्षालयहरूमा विद्यार्थी नहुने अवस्थामा पुगेका छन् । हाल वार्षिक परीक्षा दिएर बसेका २०७८ ब्याचका नियमित तर्फका २६८० विद्यार्थीहरू तथा त्यसअघिका आंशिक परीक्षा दिएका विद्यार्थीहरूको समेत नतिजा प्रकाशन, चारित्रिक प्रमाणपत्र वितरणमा समस्या देखिएको छ ।
२०५७ सालदेखि यी शिक्षालयहरूमा अध्ययन सम्पन्न गरेका विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण समेत समस्या देखिएको सञ्चालकहरूको दाबी छ । हरेक शिक्षालयमा कार्यरत १५ जना नर्सिङ प्रशिक्षकहरू, १० जना प्रशासनिक कर्मचारीहरू गरी देशभरमा १ हजार ५ जना नर्सिङ प्रशिक्षकहरू, ६७० जना प्रशासनिक कर्मचारीहरूलाई नर्सिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी निर्णय नहुँदा सम्मकालागि बाध्यात्मक बेतलबी बिदामा राखिएको छ ।
नर्सिङ कार्यक्रम बन्द रहेकोले शिक्षण संस्थामा भएको करोडौँको लगानी धराशायी भएको फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष डा. नेत्रराज चटौतले बताए । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले ३८ दिनसम्म माइतीघर मण्डला धर्ना दिएका थिए । त्यस्तै देशभर नै विभिन्न खालका आन्दोलन समेत गरेका थिए ।
आफूहरूको समस्या समाधानको लागि एक महिनाभित्रै उचित निर्णय गर्न अनुरोध गरिएको अध्यक्ष चटौतले बताए । बन्द भएको शिक्षण संस्थाहरूमा भर्ना खोली नर्सिङ शिक्षामा अध्ययनको अवसर, शिक्षक तथा कर्मचारीको रोजगारीको अवसर, शिक्षण संस्थाको आर्थिक लगानीको सुरक्षाको प्रत्याभूति गर्न माग गरे ।
देशभरका ६७ नर्सिङ शिक्षालयहरूको बन्द रहेको ताला खोल्न शिक्षण संस्थाहरूको साङ्केतिक साँचो र विवरण बुझाइएको अध्यक्ष चटौतले बताए ।